पैसा फिर्ता नभएपछि बचतकर्ताले घेरे ईमेज सहकारी

तरलता अभाव देखाउँदै एक साताका लागि कारोबार बन्द गरेपछि बचतकर्ताले रकम डुब्ने आशंकामा इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको कार्यालय घेरेका छन् ।

पैसा फिर्ता नभएपछि बचतकर्ताले घेरे ईमेज सहकारी
बागलुङ । तरलता अभाव देखाउँदै एक साताका लागि कारोबार बन्द गरेपछि बचतकर्ताले रकम डुब्ने आशंकामा इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको कार्यालय घेरेका छन् । संचालक समितिको बैठक बसेर बैशाख ६ गतेदेखि एक साताका लागि कारोबार बन्द गरेपछि बचत डुब्ने आशंकामा आक्रोसित बचतकर्ताले हल्लनचोकस्थित कर्मा कम्प्लेक्समा रहेको सहकारीको कार्यालय घेराउ गरेका हुन् । बचतकर्ताहरुले सहकारीका कार्यालय घेराउ गरेपछि त्यहाँ अहिले प्रहरीले सुरक्षा दिईरहेको छ भने कर्मचारीहरु सम्पर्कविहिन छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४५ लाख ६० हजार ७ सय ६९ रुपैयाँ खुद मुनाफा गरेको सहकारीको १ अर्ब १४ करोड ५८ लाख ६२ हजार ३ सय ५३ रुपैयाँको कुल सम्पत्ती रहेको छ । ८ सय २० जना सेयर सदस्य रहेको सहकारीको ३ करोड ३३ लाख ४१ हजार दुई सय सेयर पूँजी रहेको छ । संस्थाले ९५ करोड २४ लाख ४० हजार ८ सय ४८ रुपैयाँको बचत संकलन गरेको जनाएको छ । संस्थाले हाल ७१ करोडभन्दा बढी ऋण लगानी गरिरहेको जनाईएको छ ।