रवि लामिछानेको ड्राइभरको भेन्टिलेटरमा राखेर उपचार, कोठामा भेटिए रक्सीका बोतल

भाँचिएको हड्डीको अप्रेशन भएर अहिले भेन्टिलेटरमा राखिएको छ, टाउको पनि बजारिएको छ, अवस्था गम्भीर छ,’ एसपी कार्कीले भने।

रवि लामिछानेको ड्राइभरको भेन्टिलेटरमा राखेर उपचार, कोठामा भेटिए रक्सीका बोतल
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। सोमबार विहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। ‘माथिबाट खस्दा घाँटी गमलामा परेछ। भाँचिएको हड्डीको अप्रेशन भएर अहिले भेन्टिलेटरमा राखिएको छ, टाउको पनि बजारिएको छ, अवस्था गम्भीर छ,’ एसपी कार्कीले भने। सोमबार बिहान ४ बजेतिर थापा लामिछानेको घरको तेस्रो तलाबाट खसेका थिए। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ। थापासँगै रास्वपाका महामन्त्री मुकुल ढकालका ड्राइभर पनि सुतेका थिए। ‘मुकुलका ड्राइभरले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। अरू मानिसले हल्ला गरेपछिमात्र आफू ब्युँझिएको भनेका छन्,’ एसपी कार्कीले भने। ४ बजेतिर थापा खसेपछि आवाज आएको थियो। त्यो आवाज सुनेपछि रविका निजी सुरक्षा गार्ड र प्रहरीले के भयो भनेर हेरेका थिए। प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ। ‘उनीहरूले रक्सी खाएका थिए कि थिएनन् भन्ने परीक्षण गर्न रगतको स्याम्पल निकालेर दिएका छौं,’ एसपी कार्कीले भने।