‘जारी’ को शानदार ओपनिङ, शनिबार सिनेमा हल दर्शकको उच्च चाप

नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘जारी’ ले आक्रमक ओपनिङ गरेको छ ।

‘जारी’ को शानदार ओपनिङ, शनिबार सिनेमा हल दर्शकको उच्च चाप
काठमाडौं । नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘जारी’ ले आक्रमक ओपनिङ गरेको छ । उपेन्द्र सुब्बा निर्देशित जारीले पहिलो दिन नै २ करोड १ लाख रुपैयाँ कमाएको वितरक कम्पनी द टी फल्क्स फिल्म्सले जानकारी दिएको छ । शुक्रबार यो फिल्मको देशभरका सिनेमा हलमा शतप्रतिशत अकुपेन्सी रहेको थियो । शनिबार बिहानैदेखि हलमा दर्शकको उच्च चाप रहेकाले फिल्मले देशैभर आक्रमक व्यापार गर्ने देखिन्छ । शनिबार फिल्मको कमाई २ करोड ३० लाख रुपैयाँभन्दा बढी हुने प्रक्षेपण गरिएको छ ।यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका लेखक तथा कवि उपेन्द्र सुब्बाले जारीलाई दर्शकको साथले खुशी मिलेको बताउँछन् । फिल्मले बम्पर सुरुवात गरेपछि निर्माण टिमले बिग मुभिजमा दर्शकमाझ केक काटेर अभिनेता दयाहाङ राईको जन्मदिन पनि मनाएको थियो । अभिनेता राईले यसरी दर्शकमाझ आफ्नो जन्मदिन मनाउन पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् । वैशाख १ को जन्मदिनमा आफूलाई राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री र जारीको सफलताले दोहोरो खुशी मिलेको भन्दै दर्शकसँग खुशीयाली साट्न पाउदा हर्षित भएको उनले बताए ।‘जारी’ ले काठमाडौं उपत्यका र मोफसलका विभिन्न शहरहरुमा उल्लेख्य दर्शकको साथ पाएको छ । फिल्मका कार्यकारी निर्माता मणीराम पोखरेलले ‘जारी’ वैशाख १ गतेदेखि नै विदेशमा पनि थुप्रै ठाउँमा रिलिज भैरहेको बताए । आफ्नो टिमले निर्माण गरेको सिनेमालाई दर्शकको उच्च साथ मिल्दा आफुहरुलाई अझै मौलिक र नेपाली कथामा सिनेमा निर्माण गर्न हौसला मिल्ने बताउँछन् । फिल्मकी मुख्य अभिनेत्री मिरुना मगर पनि ‘कबड्डी ४’ पछि ‘जारी’मा पनि दर्शकबाट त्यही लेवलमा साथ पाउँदा खुशी लागेको बताउँछिन् । यसरी एकपछि अर्को सिनेमाले दर्शकको साथ पाउँदा आफुलाई पनि केही फरक अनि मेहनत गर्न हौसला मिल्ने उनको भनाई छ । अभिनेता बिजय बराल पनि फिल्म सफल हुँदा कलाकारलाई फरक भूमिकामा काम गर्न जोश आउने बताउँछन् ।जारी प्रथामा आधारित रहेको फिल्ममा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । ब्लकबस्टर फिल्ममा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । यो फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।