दुर्गा प्रसाईंसँगको अडियो गत जनवरीको हो : ढाकाकुमार श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा‍.ढाकाकुमार श्रेष्ठले पत्रकार सम्मेलन गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसगको अडियो वार्ता सत्यता नरहेको र एडिटिङ गरेर बनाएको अडान लिएका छन् ।

दुर्गा प्रसाईंसँगको अडियो गत जनवरीको हो : ढाकाकुमार श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा‍.ढाकाकुमार श्रेष्ठले पत्रकार सम्मेलन गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसगको अडियो वार्ता सत्यता नरहेको र एडिटिङ गरेर बनाएको अडान लिएका छन् । बुधबार बसुन्धारास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गरिएको बताउँदै त्यसमा सत्यता नरहेको र एडिटिङ गरेको जिकिर गरे । उनले पत्रकारहरुसँग भने, ‘यो अडियो केही पनि होइन, फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित योजना हो ।’ सांसद डा. श्रेष्ठको कुरा सुनेपछि पत्रकारहरुले जनवरीमा भएको कुराकानी त आफैंले स्वीकार गर्नुभयो नि भन्दै प्रश्न गरे । तर, उक्त प्रश्नको जवाफ उनले दिएनन् । अडियोबारे उनले आफू अदालत गइसकेको र क्लिनचिट लिएर आउने दाबी पनि प्रस्तुत गरे । साथै, आफ्नो कारणले पार्टीलाई परेको असरप्रति उनले क्षमायाचन पनि गरे ।