म्यानमारको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, सय जनाको मृत्यु

म्यानमारको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मंगलबार गरेको हवाई हमला

म्यानमारको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, सय जनाको मृत्यु
म्यानमारको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मंगलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र सञ्चारमाध्यमका एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले जनाएको छ । सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो । सागिङ क्षेत्रको एउटा गाउँमा हवाई हमला गरेको सेनाले पुष्टि गरेको छ । सैनिक प्रवक्ता जाव मिन तुनले पिपल्स डिफेन्स फोर्सको कार्यालय उद्घाटन समारोहमा हवाई आक्रमण भएको बताएका छन् । ‘हामीले पाएको स्थलगत जानकारीअनुसार, हाम्रो आक्रमणले मात्र मानिस मारिएका होइनन् त्यस क्षेत्रमा पिपल्स डिफेन्स फोर्सद्वारा बिछ्याइएका माइन पनि थिए, हवाई आक्रमण माइन बिछ्याइएका स्थानमा पनि भएको थियो,’ अधिक मानिसको मृत्यु हुनाको कारण स्पष्ट गर्दै प्रवक्ता जाबले भनेका छन् । सैनिक शासनविरुद्ध सागिङ क्षेत्रमा महिनौँदेखि उग्र प्रतिरोध जारी छ ।