बिस्केट जात्रा : ढुंगा हानाहान हुँदा २३ जना घाइते

बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहान दत्तात्रय नजिक थियो ।

बिस्केट जात्रा : ढुंगा हानाहान हुँदा २३ जना घाइते
भक्तपुर । बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यसवर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै सामाजिक सञ्जालमा यसको फोटो तथा भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेटाउन खोज्नेलाई कारबाहीको माग गरे । हिजोदेखि सुरु भएको किस्केट९बिस्काः० जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि करिब १ बजेतिर ढुङ्गा हानाहान भएको थियो । बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भए । भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको जानकारी दिए । उनले घाइते सबैको उपचार गरी राति नै घर फर्काइएको र कसैको पनि अवस्था जटिल नरहेको बताए । ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै पक्राउ गरेको थियो । उनले भने, “जात्रामा ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै ढुङ्गा हान्दै गर्दा पक्राउ गरेको र सिसी क्यामरा तथा अरु माध्यमबाट थप ढुङ्गा हान्नेहरु पहिचान गरी पक्राउ गर्नेछौँ । पक्राउ परेकालाई प्रचलित कानुन बमोजिम कारबाही गर्छौ ।” प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रा स्थानीयवासीको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुङ्गा हान्ने क्रम नरोकिएपछि प्रहरीले पक्राउ गरेको बताए । उनले मानवीय क्षति नभएको जानकारी दिँदै जात्रा अवधिभर शान्ति सुव्यवस्था कायम गराउन थप सुरक्षा रणनीति अपनाउने जानकारी दिए ।