सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् ।

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड
महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे । उनले समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताए । ‘विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ,’ प्रधानमन्त्री दाहालले भने । स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे ।