आफ्नै देशको मान्छेलाई पाहुना भनेर सम्मानित शब्दको अपमान नगर्नुहोला : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनमत खस्किएपछि देशका प्रमुख दलहरू आफ्नो पार्टीको विरोधमा लागेको आरोप लगाएका छन् ।

आफ्नै देशको मान्छेलाई पाहुना भनेर सम्मानित शब्दको अपमान नगर्नुहोला : रवि लामिछाने
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनमत खस्किएपछि देशका प्रमुख दलहरू आफ्नो पार्टीको विरोधमा लागेको आरोप लगाएका छन् । आफुहरूले विश्वमा नभएको चुपचाप क्रान्ति गरेको पनि उनले दाबी गरे । तनहुँको आबुखैरनीमा शनिवार रास्वपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाबाट तर्सेका दलका नेताले रास्पवालाई गाली गरिरहेको बताएका हुन् । ‘सबै मिलेर रास्वपालाई गाली गर्न थालेका छन्, उनीहरूका लागि सबैभन्दा ठूलो सत्रु रास्वपा भएको छ । सबै दलले हाम्रो विरोध गर्नुको अर्थ नेपाली जनताको सबैभन्दा प्यारो पार्टी रास्वपा बनेको छ । यो अभियानलाई दियोको रूपमा बालिरहने छौँ’, उनले भने, ‘विश्वमा भएका क्रान्तिमा ठूलो क्षति भएको छ, हामीले यो दुनियाँमा यस्तो क्रान्ति गरेका छौं, मानिसको ओठमा मुस्कान र हातमा फूल लिएको आन्दोलन विश्वले हेर्नेछ ।’ लामिछानेले तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्लेलाई टुरिष्ट उम्मेदवार भनेर सम्मानित शब्दको अपमान गरेको आरोप लगाए । ‘आफ्नै देशको मान्छेलाई पाहुना भनेर सम्मानित शब्दको अपमान नगर्नुहोला, वाग्लेले तपाईंसँग गरेका बाचा पूरा नगरेमा अर्को पटक टिकट दिन्नँ’, लामिछानेले भने । लामिछानेले देशको मुहार फेर्न आफूहरू राजनीतिमा होमिएको भन्दै भविष्यमा दुई तिहाइ बहुमत ल्याएर लाइन लगाएर भ्रष्टलाई जेलमा कोच्ने दाबी गरे ।