रमा क्षेत्री, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले एक विद्यालयमा परेको बजेट अर्को विद्यालयमा राख्ने निर्णयबाट पछि हटेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विनियोजित ४ कोठे भवनको (५० लाख) रकम अर्को विद्यालयमा राख्ने निर्णयबाट गाउँपालिका पछि हटेको हो ।
आज बसेको कार्यपालिकाको बैठकमा बडिगाड गाउँपालिका—८ मा रहेको कालिका प्रावि विद्यालयको ४ कोठे भवनको रकम बडिगाड गाउँपालिका-५ मा रहेको भानु माध्यमिक विद्यालयमा राख्ने प्रस्ताव बैठकमा लैजाने तयारी गरिएकाे थियाे । राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत भानु माध्यमिक विद्यालयमा भने २ कोठे भवन (२५ लाख) रकम बिनियोजित भएको थियो ।
स्रोतका अनुसार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र उपाध्यक्ष भीमसेन बनले कार्यविधि मिचेर सोही निर्णयका लागि कर्मचारीलाई दबाब दिएका थिए ।
संघीय सरकारले राखेको बजेट पालिकाले कार्यान्वयन गर्ने भनिएपनि एक विद्यालयको रकम अर्को विद्यालयमा राख्ने निर्णय पालिकाको अधिकारभित्र नरहेको शिक्षा तथा मानवस्रोत विकाश केन्द्रका निर्देशक अर्जुन ढकालले न्यूज खरीलाई जानकारी दिए ।
‘संघीय सरकारले गरेको निर्णय फेरबदल गर्ने अधिकार पालिकालाई हुँदैन, भएको निर्णयलाई कार्यान्वय गर्ने हो,’ उनले भने, ‘हामीले पालिकालाई पठाएको कार्यविधिमा पनि स्पष्ट लेखिएको छ ।’
पालिकाका एक कर्मचारीले यो कार्यविधि बिपरित हुने भनेपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सोही निर्णयबाट पछि हटेको स्रोतको दाबी छ ।
आज भएको कार्यपालिकाको बैठकमा एक विद्यालयको रकम अर्को विद्यालयमा राख्ने विषयमा कुनै प्रस्ताव नआएको एक कार्यपालिका सदस्यले जानकारी दिए ।
एक विद्यालयकाे बजेट अर्को विद्यालयमा राख्ने निर्णयबाट पछि हट्यो बडिगाड गाउँपालिका
‘संघीय सरकारले गरेको निर्णय फेरबदल गर्ने अधिकार पालिकालाई हुँदैन, भएको निर्णयलाई कार्यान्वय गर्ने हो,’ उनले भने, ‘हामीले पालिकालाई पठाएको कार्यविधिमा पनि स्पष्ट लेखिएको छ ।’

