दाङ । दाङमा एक शिक्षकले विद्यार्थीमाथि जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। दाङ शान्तिनगर गाउँपालिका– ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेख छ। ‘सबै बसेर परीक्षाको तयारी गरिरहेका रहेछन्, त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाउन भनेछन्,’ प्रहरी निरीक्षक केसीले भने, ‘त्यसपछि पीडितले अहिले पढिरहेको भनिरहँदा इमर्जेन्सी काम भएको भन्दै बोलाएर भवनको भर्याङमुनि लगेर जबर्जस्ती करणी गरेको पीडितले बयान दिएकी छिन् ।’
पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्रावि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । उनी फरार रहेको प्रहरी निरीक्षक केसीले बताए । पीडितले मंगलबार जाहेरी दिएको प्रहरीले जनाएको छ।
शिक्षकबाटै एसइई दिँदै गरेकी छात्रामाथि जबर्जस्ती करणी
दाङमा एक शिक्षकले विद्यार्थीमाथि जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ।

