सप्तरी । सप्तरीको कंचनरुपस्थित ऋणको रकम चुक्ता गर्न एक महिलाले आफ्नै पतिको हत्या गरेको घटना खुलासा भएको छ ।
कंचनरूप नगरपालिका ३ दास टोलकी कोसीला देवी दासले आफ्नी देउरानी र भाउजु नाता पर्ने एक अर्की महिलाको सहयोगमा पति ३७ वर्षीय शिव शंकर दासको हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।
गत कात्तिक ६ गते बिहान ६ बजेको समयमा आफ्नै घरभित्र करेन्ट लगाएर शिवशंकरको हत्या गरेको दासले प्रहरी समक्ष वयान दिएको इलाका प्रहरी कार्यालय कंचनपुर डिएसपी दीपक कुमार रायले जानकारी दिए । प्रहरीले ६ महिनाको अनुसन्धानपछि यो घटना सार्वजनिक गरेको हो ।
शिव शंकर र कोसीला देवीले छोरीको विवाह गर्न र बिमा गर्नका लागि स्थानीय भाउजु नाता पर्ने शान्ती देवी दाससँग ऋण लिएका थिए । सो ऋण चुक्ता गर्न शान्ती देवीले कोसीला र शिवशंकरलाई दैनिक रुपमा धाक धम्की र गाली गलौज गर्दै आएकी थिइन् ।
ऋण तिर्न शिव शंकर र कोसीला देवीले असमर्थता देखाएका थिए । पछि शान्तीदेवीले शिव शंकरको हत्या गरे बिमा वापत ठूलो रकम आउने र सो रकमबाट ऋण पनि चुक्ता हुने र अरु रकमसमेत आउने कुर कोसीला देवीलाई सुझाव दिएकी थिइन् । सोही अनुसार शान्ती देवीले २०७९ साल कात्तिक ५ गते शिव शंकरलाई आफ्नो घरमा बोलाई अत्यधिक मादक पदार्थ सेवन गरी घरतर्फ पठाएकी थिइन् ।
प्रहरीका अनुसार मातेर घर गएका शिव शंकर भान्सा कोठामा गएर सुतेका थिए । घरमा सुतेका बेला शान्ती देवीले आफ्ना पति शिव शंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर बिजुलीको लाइन दिएर करेन्ट लगाएको वयानमा बताएको डीएसपी रायले जानकारी दिए । घरमा करेन्ट लगाउने कार्यमा कोसीला देवीलाई देउरानी हिरण देवी दासले सहयोग गरेको डीएसपी रायले बताए।
ऋण चुक्ता गर्न पतिको हत्या
सप्तरीको कंचनरुपस्थित ऋणको रकम चुक्ता गर्न एक महिलाले आफ्नै पतिको हत्या गरेको घटना खुलासा भएको छ ।

