डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले २०४८ सालभन्दा पहिलाको जन्ममिति भएका हरेक व्यक्तिलाई प्रहरी सरजमिन मुचुल्का अनिवार्य गरेपछि अहिले जिल्लामा सेवा ग्राहीलाई निकै समस्या भएको छ ।
नागरिकता ऐनमा उल्लेख भएको मापदण्ड पूरा हुँदा पनि अतिरिक्त कागजात खोजेर सेवाग्राहीलाई सास्ती दिने गरेको दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव कृष्ण विकको आरोप छ । ‘वडाध्यक्ष वा जनप्रतिनिधिले नागरिकता दिन अनुसूची फारम भरी प्रमाणित गरिसकेपछि फेरी प्रहरीमार्फत बुझ्न लगाउने कार्य कानुनी र व्यावहारिक दुवै हिसाबले त्रुटिपूर्ण छ, यो सच्याउनुपर्छ ।’ –उनको माग छ ।
यसै गरी, प्रक्रिया पुगेर पनि जिल्ला प्रशासनले सरजमिन मुचुल्का चाहिने भनेपछि घर फर्किंदै गरेका बमबहादुर भुल भन्छन्–‘सरकारले रोजगारी दिँदैन, गर्जो टार्न भारत गएको थिएँ । यति बेला नागरिकता लिन आउँदा नागरिकता दिन पनि गारो गरेजस्तो लाग्यो, हामी नेपाली होइनौं ?
जनप्रतिनिधिको सिफारिस र आवश्यक पर्ने सम्पूर्ण कागजात पुगे पनि जिल्ला प्रशासन कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालयलाई निवेदकले नेपाली नागरिकता लिएको छ : छैन, नेपाली नागरिकता नलिएको भए हालसम्म नलिनुको कारण के हो ? सरजमिन मुचुल्का गरी पठाइदिनु भनेर पत्राचार गर्ने गरेको छ । प्रहरी कार्यालयले सरजमिनका लागि नजिकमा हरेको प्रहरी कार्यालयमार्फत सरजमिन गर्ने गरेको छ ।
उता, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले दोहोरो नागरिकता लिएको हुनसक्ने भएकाले प्रहरी मुचुल्का अनिवार्य गरिको बताए । ‘केही व्यक्तिले दोहोरो नागरिकता लिएको देखियो त्यसैले सरजमिन मुचुल्का बाध्यकारी गरिएको हो, हाम्रो दु : ख दिने मनशाय होइन ।’
अतिरिक्त निर्देशनले सेवाग्राहीलाई सास्ती
जिल्ला प्रशासन कार्यालय डोटीले २०४८ सालभन्दा पहिलाको जन्ममिति भएका हरेक व्यक्तिलाई प्रहरी सरजमिन मुचुल्का अनिवार्य गरेपछि अहिले जिल्लामा सेवा ग्राहीलाई निकै समस्या भएको छ ।

