काठमाडौं । चैत ५ / ९ गते दुई चरणमा सम्पन्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ४४ आंगिक क्याम्पसको आधिकारिक मत परिणाम सार्वजनिक भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये १८ वटामा विभिन्न विद्यार्थी संगठनको तालाबन्दी र अदालतको आदेशका कारण मतदान हुन सकेको छैन ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण शाखाका अनुसार भैरहवा बहुमुखी क्याम्पसको अन्तिम मत परिणाम आएपछि ४४ आंगिक क्याम्पसको स्ववियुले पूर्णता पाएको छ । बाँकी १८ क्याम्पसमा तत्काल निर्वाचन अघि बढाउन सम्बन्धित प्रशासनलाई निर्देशन दिइएको निर्देशक पशुपति अधिकारीले बताए ।
हालसम्म मत परिणाम आएका ४४ मध्ये १९ क्याम्पसको स्ववियु सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो बनेको छ । त्यस्तै १८ क्याम्पसको स्ववियु सभापति जितेर नेपाली कांग्रेस निकट नेविसंघ दोस्रो बनेको छ । ४ वटा क्याम्पसको सभापति जितेर माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी तेस्रो स्थानमा छ ।त्यस्तै जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले २ वटा क्याम्पसमा स्ववियु सभापति जितेको छ । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले एउटा क्याम्पसको सभापति जितेको छ । त्रिविका आंगिक क्याम्पसको सभापतिमा अन्य पार्टीका विद्यार्थी संगठनले जीत निकाल्न सकेनन् ।
त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसका स्ववियु निर्वाचनको आधिकारिक परिणाम भने विश्वविद्यालयमा नआउने उनले बताए । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये २२ वटा काठमाडौैं उपत्यकाभित्र छन् भने ४० वटा उपत्यका बाहिर छन् ।सम्बन्धन प्राप्त र अन्य साना क्याम्पससमेत गरी नेकपा एमाले निकट अनेरास्ववियुले १२२ क्याम्पसमा सभापति जितेको छ । नेपाली कांग्रेस निकट नेविसंघले ११४ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७३ वटा क्याम्पसमा सभापति जितेको छ ।
त्रिविका आंगिक क्याम्पसमध्ये देशकै सबभैन्दा धेरै विद्यार्थी पढ्ने पोखराको पृथ्वीनारायण क्याम्पसको निर्वाचन अदालतको आदेशका कारण रोकिएको छ । त्यस्तै पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा सत्ता गठबन्धन आबद्ध विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन रोकिएको छ ।उपत्यकाका ठूला क्याम्पस त्रिचन्द्र, आरआर, नेपाल कमर्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसलगायतको निर्वाचन पनि तालाबन्दीका कारण रोकिएको छ । त्रिचन्द्रबाहेक अन्य क्याम्पसमा सत्ता गठबन्धनका विद्यार्थीले तालाबन्दी गरेका छन् ।
अनेरास्ववियुले जित्ने क्याम्पसहरुमा नियतवस सत्ताको आडमा तालाबन्दी र निर्वाचन रोक्ने षड्यन्त्र भएको सो संगठनका अध्यक्ष समिक बडालको आरोप छ । तर, नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले भने त्रिचन्द्रमा अखिलले तालाबन्दी गरेको भन्दै आफूहरु निर्वाचनको पक्षमा रहेको बताए ।यसपटक त्रिविका आंगिक क्याम्पसहरुको निर्वाचनमा एक दर्जन बढी विद्यार्थी संघले निर्वाचन प्रयोजनका लागि संगठन दर्ता गराएका थिए । तीमध्ये समिक बडाल नेतृत्वको अनेरास्ववियु, दुजाङ शेर्पा नेतृत्वको नेविसंघ, पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारी, रमेश यादव नेतृत्वको समाजवादी विद्यार्थी युनियन र बीपी यादव नेतृत्वको विद्यार्थी जनमत संघ सभापति जितेर राष्ट्रिय संगठनको रुपमा स्थापित भएका छन् ।
त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४४ को आधिकारिक नतिजा सार्वजनिक, कसले कति जिते ?
चैत ५ र ९ गते दुई चरणमा सम्पन्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ४४ आंगिक क्याम्पसको आधिकारिक मत परिणाम सार्वजनिक भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये १८ वटामा विभिन्न विद्यार्थी संगठनको तालाबन्दी र अदालतको आदेशका कारण मतदान हुन सकेको छैन ।

