सल्यानमा किराना पसलमा आगलागी,चार गम्भीर घाइते

सल्यानमा एउटा किराना पसलमा आगलागी हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। एक जना भने कोहलपुरबाट डिस्चार्ज भएका छन्।

सल्यानमा किराना पसलमा आगलागी,चार गम्भीर घाइते
सल्यान । सल्यानमा एउटा किराना पसलमा आगलागी हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। एक जना भने कोहलपुरबाट डिस्चार्ज भएका छन्। गम्भीर घाइते थप चार जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजबाट थप उपचारका लागि भारतको लखनऊ रिफर गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले बताए। कुमाख गाउँपालिका वडा नं। ४ भण्डारखोलास्थित अन्दाजी २४ वर्षीय शंकर रानाको किराना पसलमा गएराति ९ बजेतिर आगलागी हुँदा शंकरसहित स्थानीय २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, १८ वर्षीय क्षेत्रमनी राना र २० वर्षीय सञ्जीव शाह घाइते भएका थिए। पाँच घाइते सबैलाई जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि गएराति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो। तीमध्ये १८ वर्षीय क्षेत्रमनी राना मंगलबार डिस्चार्ज भएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए। केहीबेर अगाडिमात्रै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पुगेको छ। आगलागीको कारण अझै खुलिनसकेको प्रहरी अधिकारीहरूले बताएका छन्। डिएसपी केसीले वर्षाका कारण जाडो बढेको हुँदा न्यानोका लागि आगो बालेको हुन सक्ने र त्यहीबाट आगो सल्केको हुन सक्ने अनुमान गरे। किराना पसल भित्र ग्यालिनमा पेट्रोल रहेको र आगो उक्त पेट्रोलमा सल्किएपछि आगो लागेको अनुमान भइरहेको उनले बताए।