यी हुन् मन्त्रिपरिषद्ले गरेका १० निर्णयहरु

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो ।

यी हुन् मन्त्रिपरिषद्ले गरेका १० निर्णयहरु
काठमाडौं । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो । बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । आजको मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ । यी हुन् थप निर्णयहरु –कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत कृषकहरुलाई उपलब्ध गराइदै आएको रासायनिक मलमा अनुुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वायन नगर्ने । –विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि यूरोपियन यूनियनबाट प्राप्त हुने ५० मिलियन यूरो(करिव ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने । –नेपाल र बंगालदेशबीच Sharing of Real Time Hydro–meteorological Data and information for flood Forecasting and Warning को समझदारीपत्र (MoU)मा हस्ताक्षर गर्न स्वीकृति दिने । –विद्युत नियमन आयोगका सदस्य श्री रामेश्वरप्रसाद कलवारले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्ने । –नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको बढुवा गर्ने । –प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकूहरुलार्ई कार्यबिधि बनाई राहत उपलब्ध गराउने । –राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडलाई जयपृथ्वी नगरपालिका १ को करिब २८३ रोपनी सरकारी जग्गा लिजमा उपलब्ध गराउने । –नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनबहादुर खड्का, भरतपुर ११ चितवनलाई नियुक्त गर्ने । –दूरसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गर्ने । –नेपाली सेनाको ल्याण्ड फोर्सको चौथो बैठक नेपालमा सञ्चालन गर्न स्वीकृत दिने ।