राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने हुँदैन भन्ने उखान नेपालका वामपन्थीहरुमा ठ्याक्कै मिल्छ। उनीहरु छिनमै मारामार गर्छन्, छिनमै अंगालो हालेर मिल्न पछि पर्दैनन्।
नेकपा एमाले र माओवादी केन्द्रबीच यस्तै दृश्य देखिएको छ। आरोप– प्रत्यारोपमा उत्रिएका यी दुई दलबीच फेरि मिल्ने–मिलाउने प्रयत्न दुबै पार्टीका दोस्रो र तेस्रो तहका नेताबाट शुरु भएको छ।
एक महिनाको अवधिमा एमालेका सचिवालयदेखि पोलिटब्युरोसम्मका नेताहरुले माओवादीका विभिन्न तहका नेतासँग संवाद गरेका छन्। एमाले अध्यक्ष केपी ओलीको अनुमति लिएरै उनी पक्षका नेताहरु माओवादी केन्द्रका दोस्रो तहका नेताहरुसँग संवादमा छन्।
यता माओवादी केन्द्रका नेताहरु पनि अध्यक्ष प्रचण्डको अनुमति लिएरै एमालेका नेताहरुसँग संवादमा छन्। माओवादीका एक नेताकाअनुसार धेरैपटक एमालेका नेताहरुले जोड गरेपछि प्रचण्डकै अनुमतिमा भेट भएको हो। तर, यो संवाद दुई अध्यक्ष तहमा भने पुगिसकेको छैन।
एमाले नेता घनश्याम भुसालले त घोषित रुपमै वाम एकीकरणको प्रस्ताव अगाडि बढाएका छन् । भुसाल पनि वर्षमान पुन लगायतका नेताहरुसँग निरन्तर सम्वादमा छन् ।
स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग तीन घण्टा लामो छलफल गरे।
उनीहरुबीचको कुराकानी गोप्य राख्ने प्रयास भएकाले कुन–कुन विषयमा छलफल भयो खुलेको छैन, तर स्थानीय तहको निर्वाचन परिणामबारे कुरा भएको थियो। ‘परिणाम एमालेका लागि स्वभाविक छैन,’ स्रोतले भन्यो।
उनीहरुबीच भेट भएको दुई हप्ता नहुँदै माओवादी अध्यक्ष प्रचण्डले एमालेबाट प्रधानमन्त्रीको अफर गरिएको सूचना चुहाए। यद्यपि एमालेले त्यस सूचना गलत भएको प्रतिक्रिया दिएको छ। एमाले र माओवादी नेताबीचको भेटको श्रृंखला झन् बढ्न थाल्यो।
शनिबार एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच खुमलटारमा २ घण्टा लामो छलफल भयो। अध्यक्ष ओलीको पाँच जनाभित्र पर्ने किचन क्याबिनेटमा पर्छन् ज्ञवाली।
त्यसलगत्तै आइतबार माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेका अध्यक्ष ओलीलाई उनकै निवास पुगेर साढे दुई घण्टा छलफल गरे। भेटबारे ज्ञवाली–श्रेष्ठ दुबैले पुष्टि गरेका छन्।
ओली–श्रेष्ठबीच वर्तमान राजनीतिक अवस्था, नेपालको कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको विषयमा छलफल भएको स्रोतले जनाएको छ। यिनै तीन विषयमा पर्ने पहिलो र दोस्रो बुँदामै ‘खुमलटार–बालकोट कनेक्सन’ प्रयास भइरहेको छ।
पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग अगाडि बढाउन चाहेको स्टेट पार्टनरसीप प्रोग्राम (पीपी) का कारणले पनि वर्तमान गठबन्धन संकटमा पर्ने र वाम गठबन्धन बन्ने सक्ने एमाले नेताहरुमा आशा पलाएको देखिन्छ।
२३ फागुन २०७८ मा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि ब्यूँतिएको एमाले र माओवादी केन्द्रले महाधिवेशन गरिसकेका छन्। अदालतको फैसलापछिको १४ महिनामा ठूला राजनीतिक परिवर्तन नभए पनि एमाले विभाजित भएको छ । उसले नेतृत्व गरेका केन्द्र र प्रदेशका सत्ताहरु ढलेका छन्।
दुई पार्टीको एकता भंग भएकाले एमाले–माओवादी नेताहरुको सम्बन्ध पनि औपचारिक सीमित भएको छ।
३० वैशाख २०७९ मा स्थानीय तहको चुनाव भयो। ७५२ तहको परिणाम सार्वजनिक हुँदा एमाले २०५ तहमा विजयी भयो। माओवादी केन्द्रले १२१ तह जित्यो। एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले २० तह जित्यो।
यहीँबाट खुमलटारसँग चिसिएको सम्बन्ध तताउने प्रयास बालकोटबाट हुन खोजेको एकथरी नेताहरु बताउँछन्।
तथापि स्थानीय तह गुमाए पनि लोकप्रिय मत पाएको एमालेको दाबी छ। उसले एक्लै संघ र प्रदेशको चुनाव लड्ने घोषणा गरेको छ। अहिले एमाले कसैसँग मिल्ने पक्षमा नरहेको अध्यक्ष केपी ओलीले बताइसकेका छन्।
तर, भित्र–भित्रै एमालेका केही नेताहरु माओवादी केन्द्रका नेताहरुसँग छलफलमा छन्। त्यसका लागि एमाले अध्यक्ष केपी ओली नजिकका नेताहरु सक्रिय छन्। यस्तो छलफल विगत तीन हप्तादेखि जारी छ।
उपमहासचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा पनि यसका लागि सक्रिय छन्।
बाँस्कोटाले भने, ‘त्यसका निम्ति हामी बाधक हुन्नौँ,’ तर मेरीबास्सै आजै मिल्नुपर्यो, बिहानै मिल्नुपर्यो, नभएदेखि हामीले बास नपाउने भयौँ, सास फेर्न नसक्ने भयौँ भनेर हिँड्ने पक्षमा एमाले छैन।’
उनी थप्छन्, ‘हिजो जो साथीहरु एकै ठाउँमा थियौँ, त्यो त चुनावी तालमेल होइन, नीति, विचार कार्यक्रमको संयुक्त घोषणा बनाएर मिलेका हौँ,’ उनले थपे, ‘ मिल्न सकिन्छ, तर हिजोको दृष्टिकोणबाट, हिजोको गल्ती दोहोर्याएर होइन। नीति, विधि र नेतृत्वमा सही ढंगले गर्नुपर्छ।’
त्यस्तै, उपमहासचिव पृथ्वी सुब्बा गुरुङले चुनावी परिणामपछि डिजास्टर भएको र अब वामपन्थी मिल्नुपर्ने प्रस्ताव राखेका छन्।
‘अहिलेको परिणामले वाम गठबन्धनको अझ आवश्यकता र औचित्य पुष्टि गर्छ,’ नेपालखबरसँग कुरा गर्दै गुरुङले भने, ‘वाम गठबन्धन हिजो पनि सही थियो, तर पार्टी निर्णय गर्नुपर्यो। पार्टीले निर्णय गरेमा त्यो अभियानमा हामी लाग्नुपर्छ।’
माओवादीका नेताहरुले भने एमालेका नेताहरुसँग भएको छलफल सार्वजनिक गर्न चाहेका छैनन्। शनिबार एमाले उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका नेता वर्षमान पुनसँग भेट भएको पुष्टि गरे। ‘भेट भएको हो, खासै कुरा भएन, हाइ हेल्लो मात्र हो,’ ज्ञवालीले भने।
माओवादी पाँच दलीय गठबन्धनबाट अलग हुने तत्काल सम्भावना नरहेको सो पार्टीका नेताहरु बताउँछन्। चुनाव आउन अझै ५–६ महिना बाँकी भएको र गठबन्धनको वातावरण कायम राख्न सकिने एमाले नेताहरुको बुझाइ छ।
माओवादीले पनि एमाले अध्यक्ष ओली कतिको लचक भएर प्रस्तुत हुन्छन् त्यो हेरिरहेका छन्। एक टेलिभिजन अन्तर्वार्तामा एमाले अध्यक्ष ओलीले असार १७ गते अघि नै गठबन्धनमा गडबडी सुरु हुने बताएका थिए। त्यसको संकेत देखिन थालेको ओलीले बताएका थिए।
पाँचदलीय गठबन्धन भत्काउने गरी माओवादीसँग संवादमा लागेको हो कि, साँच्चिकै चुनावी तालमेल गर्न खोजिएको होरु यसका लागि भने केही समय कुर्नै पर्ने छ। नेपालखबरबाट
ओली-प्रचण्डको अनुमतिमा दोस्रो तहका नेताको गोप्य भेटवार्ता
नेकपा एमाले र माओवादी केन्द्रबीच यस्तै दृश्य देखिएको छ। आरोप– प्रत्यारोपमा उत्रिएका यी दुई दलबीच फेरि मिल्ने–मिलाउने प्रयत्न दुबै पार्टीका दोस्रो र तेस्रो तहका नेताबाट शुरु भएको छ। एक महिनाको अवधिमा एमालेका सचिवालयदेखि पोलिटब्युरोसम्मका नेताहरुले माओवादीका विभिन्न तहका नेतासँग संवाद गरेका छन्। एमाले

