स्ववियु निर्वाचनमा ३ विद्यार्थी संगठनबीच तालमेल

प्रमुख ३ पार्टीनिकट विद्यार्थी संगठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् ।

स्ववियु निर्वाचनमा ३ विद्यार्थी संगठनबीच तालमेल
काठमाडौँ । प्रमुख ३ पार्टीनिकट विद्यार्थी संगठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल भएको हो । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ३ वटै विश्वविद्यालयमा हुन गइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष दिपेश पुनले जानकारी दिए । नेविसंघले नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, शंकरदेव क्याम्पस, महाराजगञ्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती वहुमुखी क्याम्पस, ग्रामीण आर्दश क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस थलीको सभापति पद पाउने सहमति भएको छ । अनेरास्ववियु (क्रान्तिकारी) थापाथली इन्जिनीयरिङ क्याम्पस, सानोठिमी बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनीयरिङ क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिक युथ क्याम्पस, विश्वभाषा क्याम्पस, नेशनल इन्जिनीयरिङ र हिमालयन इन्जिनीयरिङ पाउने सहमति भएको छ । अनेरास्ववियूले आरआर क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापति पाउने गरी सहमति भएको छ । क्रान्तिकारीका महासचिव पुनले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका संगठनले तालमेलअनुसार नै फिर्ता लिने बताए ।