कोशी प्रदेश नामकरणको विरोधमा हडताल, जनजीवन प्रभावित

कोशी प्रदेश नामकरणको विरोधमा ताप्लेजुङसहित प्रदेशका सबै जिल्लामा हडताल गरिएको छ ।

कोशी प्रदेश नामकरणको विरोधमा हडताल, जनजीवन प्रभावित
ताप्लेजुङ । कोशी प्रदेश नामकरणको विरोधमा ताप्लेजुङसहित प्रदेशका सबै जिल्लामा हडताल गरिएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न दश वटा पार्टी तथा सङ्घ संस्थाहरुले प्रदेश नामकरणको विरोध गर्दै आज हडताल गरेका हुन् । जातीय पहिचान अनुसार प्रदेशको नामकरण गरिनु पर्नेमा कोशी नामकरण गरिएको भन्दै त्यसलाई सच्याउनु पर्ने मागसहित उनीहरुले बन्दको आह्वान गरेका हुन् । किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खा, किराँत सुनुवार सेवा समाज, किराँत धर्म तथा साहित्य उत्थान सङ्घ, जनता समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बूवान मुक्ति मोर्चा, लिम्बूवान क्रान्तिकारी पार्टी र याक्थुम चुम्लुङ मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका हुन् । बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, झापा, मोरङ, सुनसरी लगायतका प्रदेशका सबै जिल्लाका नागरिक प्रभावित भएका छन् । ताप्लेजुङमा मोटरसाइकल समेत चलाउन दिइएको छैन भने बजार बन्द गरिएको छ। आन्दोलनरत पार्टी तथा सङ्घ संस्थाहरुले हिजो बेलुकी पनि मसाल जुलुससहित प्रदर्शन गरेका थिए।