प्रचण्डविरुद्धको रिट ईश्वर खतिवडाको इजलासमा

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ।

प्रचण्डविरुद्धको रिट ईश्वर खतिवडाको इजलासमा
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ। प्रचण्डविरुद्ध द्वन्द्वपीडित परिवारहरूले दिएको रिटको पेसी हिजो बिहीबारका लागि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको भएपनि हिजो ‘हेर्न नभ्याउने’मा राखिएको थियो। हिजो ‘हेर्न नभ्याउने’ मा राखिएको उक्त रिटको संभवत आज पहिलो सुनुवाइ हुनेछ। प्रचण्डले २०७६ माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा ‘सामन्ती राजाहरूले १२ हजार जनता मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए। दाहालको यही सार्वजनिक अभिव्यक्तिकाविरुद्धमा रिट परेको हो। उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन्। यसअघि, उनीहरूको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो। दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएको हो। इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। आदेशपछि प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुनेछ।