राम प्रसाद घिमिरे, बागलुङ । बागलुङ बजारको दीर्घकालीन समस्या हो खानेपानी । साबिक धौलागिरी अञ्चलको सदरमुकाम समेत रहेको यो बजारका नागरीकहरु वर्षौंदेखि शुद्ध खानेपानीको अभाव झेल्न बाध्य छन् ।
बागलुङ नगरपालिकाका मुख्य ४ वटा वडाहरु पर्ने यो बजारमा वर्षौंदेखि खानेपानीको समस्या समाधानका लागि प्रयास गरिएपनि दीर्घकालीन रुपमा पानीको उपलब्धता हुन सकेको छैन ।
वर्षाको समयमा हिलो र हिउँदमा केही घण्टाको मात्र पानीको उपलब्धताले अपुग हुँदा नागरिकहरु महङ्गो मुल्यमा पानी किनेर खान बाध्य छन् ।
नगरपालिकाका वडा नम्बर १,२ र ३ मा रेश खोलाको पानी आंशिक रुपमा आएपनि वडा नम्बर ४ को उपल्लाचौर, रमेटार, वडारचौर, कुँडुले, छाप लगायतका बस्तिमा उक्त पानी उपलब्ध हुन सकेको छैन ।
२०५८ साल देखिको खानेपानी विवाद समाधान
बागलुङ नगरपालिका -५, साविक मालिका गाविसको कमेरे खानेपानी मुलको विषयमा बागलुङ र म्यादीको बेनी नगरपालिका १, साविकको रत्नेचौर गाविसबीचको खानेपानी मुल विवाद समाधान भएको छ ।
कमेरे खानेपानी मुलको समस्या नयाँ भने होइन । वि.स. २०५८ साल देखिको यो विवादले अन्ततः २१ वर्ष पछाडि बागलुङ र रत्नेचौरका उपभोक्ताबीच दुवै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीको रोहवरमा समाधान भएको हो ।
जिल्ला समन्वय समिति म्यादीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, म्यादीका प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, बेनी नगरपालिका १, रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापा, बागलुङ नगरपालिका ४, का वडाध्यक्ष कुमारविक्रम क्षेत्री, ५ का वडाध्यक्ष हरीप्रसाद शर्मालगायत दुवै पक्षका उपभोक्ताको उपस्थितिमा बसेको संयुक्त बैठकले २१ वर्षदेखिको खानेपानी विवादलाई समाधान गरेको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
पानीको व्यवस्थापनमा लाग्ने खर्च दुवै स्थानीय तहले बराबर गर्ने सहमति ?
कमेरे मुहान पानीको व्यवस्थापनका लागि लाग्ने खर्च दुवै स्थानीय तहले बराबर गर्ने सहमति भएको छ । ट्याङ्की निर्माण लगायत सबै कुरामा लाग्ने खर्च बागलुङ नगरपालिका र बेनी नगरपालिकाले संयुक्त रुपमा बराबर गर्नेगरी सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा बताए ।
बागलुङ नगरपालिकाले काम अगाडि बढाएको छ ?
बागलुङ नगरपालिका वडा नम्बर ५, मालिकामा रहेको कमेरे खानेपानी मुहानको पानी व्यवस्थापन तथा वितरणका लागि बागलुङ नगरपालिकाले काम अगाडि बढाएको छ । २०५८ सालमा बागलुङका उपभोक्ताको नाममा जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भएको छ ।
कमेरे खानेपानीका लागि बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षबाट ५० लाख बजेट विनियोजन गरि काम अगाडि बढाएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । यो योजना यसै आर्थिक वर्ष भित्र कार्यान्वयन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए ।
२१ वर्षदेखिको बागलुङ-रत्नेचौर खानेपानी विवाद अन्ततः समाधान
बागलुङ नगरपालिकाका मुख्य ४ वटा वडाहरु पर्ने यो बजारमा वर्षौंदेखि खानेपानीको समस्या समाधानका लागि प्रयास गरिएपनि दीर्घकालीन रुपमा पानीको उपलब्धता हुन सकेको छैन ।

