भारु नोटको रेट घट्यो, भारु ५ सयको नोट साट्दा नेपाली ७५० !

भारतीय २ र ५ सयको नोटलाई स्थानीय बजार, होटल र रेस्टुरेन्टले नेरु १५० का हिसाबमा साट्न थालेपछि अझ सस्तो भएको पाइएको हो । यसअघि पुसको दोस्रो सातादेखि भारु १ सयभन्दा माथिका नोट नेरु १५५ देखि १५८ का दरमा कारोबार भइरहेका थिए । तर फागुनको दोस्रो सातादेखि रेट ह्वात्तै घटेर १५० मा आइपुगेको छ ।

भारु नोटको रेट घट्यो, भारु ५ सयको नोट साट्दा नेपाली ७५० !
काठमाडौं । नेपालका दक्षिण सीमावर्ती क्षेत्रमा सस्तो भएको भारतीय रुपैयाँको दुई महिनाको अवधिमा झनै सस्तो भएको छ । भारतीय २ र ५ सयको नोटलाई स्थानीय बजार, होटल र रेस्टुरेन्टले नेरु १५० का हिसाबमा साट्न थालेपछि अझ सस्तो भएको पाइएको हो । यसअघि पुसको दोस्रो सातादेखि भारु १ सयभन्दा माथिका नोट नेरु १५५ देखि १५८ का दरमा कारोबार भइरहेका थिए । तर फागुनको दोस्रो सातादेखि रेट ह्वात्तै घटेर १५० मा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको निर्धारणअनुसार १ सय भारुको नेरु १६० हुन्छ । जसअनुसार ५ सय भारुको ८ सय हुन्छ । तर विराटनगर र सीमापारि जोगबनीको बजारमा भारु ५ सयका नोटको १५० का हिसाबले नेरु ७५० मा प्रचलनमा ल्याइएको छ । त्यस्तै भारु २ सयको नोटको नेरु ३२० हुनुपर्नेमा ३०० मा मात्र कारोबार भइरहेको छ । विराटनगरको बिग होटलका क्यासियर उद्धव भट्टले नेपाली ग्राहक पनि भारु बोकेर आउन थालेको जानकारी दिए । क्यासियर भट्टका अनुसार स्थानीय सटही काउन्टरले नै भारुको मूल्य १५० भन्दा बढी दिँदैनन् । त्यसैले १५० का हिसाबले साट्न बाध्य परेको हो । जोगबनीको कलकत्ता क्लोथका सञ्चालक श्याम तापडियाले कारोबारीले अहिले नेरु १५० का दरमा भारु २ सय र ५ सयका नोट दिइरहेको जानकारी दिए । त्यस्तै जोगबनीकै हरियाना फैन्सी स्टोरका नरेन्द्र गोयलले पनि आफ्नो पसलले भारु १ सयभन्दा माथिका नोट नेरु १५० का हिसाबले खरिद गरिरहेको पुष्टि गरे । विराटनगरको विदेशी सामग्रीको पसल सञ्जय ट्रेडर्सका सञ्चालक अजय वैद्यले भारुको बढ्दो कारोबारले व्यवसाय गर्न कठिन भइरहेको बताए । विराटनगरका दुई ठुला क्यासिनोले भने भारुको मूल्य जति घटबढ भए पनि आफूलाई असर नपर्ने बताए । होटल रत्नामा सञ्चालित सम्राट् क्यासिनोका सञ्चालक लक्ष्मण बोहराले आफ्नो क्यासिनोमा लिनेदिने कारोबार भारुमै भइरहेकाले नेरुसित खासै मतलब नहुने स्पष्ट पारे ।