काठमाडौं । भारतबाट नेपाल ल्याइएको ८० हजार लिटर डिजेलमा मट्टितेल मिसावट गरिएको छानबिन समितिले ठहर गरेको छ।
फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा भएको ८० हजार डिजेलमा चालकको मिलेमतोमा मट्टितेल मिसावटको शंका लागेपछि कारबाही र परीक्षणको प्रक्रिया अगाडि बढाइएको थियो। घटनाको छानबिन गर्न निगमले ३ सदस्यीय समिति गठन गरेको थियो। सो समितिले नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा ८० हजार लिटर डिजेलमा मट्टितेल मिसावट भएको प्रमाणित गरेको हो।
ल्याबले ४ वटा ट्यांकरमा रहेको ८० हजार लिटर डिजेलमा मट्टितेल मिसावट गरिएको प्रतिवेदन आइतबार निगमलाई बुझाइएको छ। निगम स्रोतका अनुसार झापाबाट काठमाडौंको केन्द्रिय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजेलको नमुना परिक्षण गर्दा मट्टितेल मिसावट गरिएको पाइएको हो।
निगमले ४ वटा ट्यांकर चालक र ढुवानी व्यवसायीलाई कारबाही गर्ने तयारी थालेको बताएको छ।
नवदुर्गा आयल स्टोर्सको नाममा रहेको मे १ ख २१४९, माता पाथीभरा आयल स्टोर्सको नाममा रहेको मे १ ख २१५१, उत्तरगंगा यातायात प्रालिको नाममा रहेको ना ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सको नाममा रहेको ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा आएको कुल ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको थियो।
निगमले ट्यांकर चालकलाई कारबाही गरी अन्य प्रक्रिया अगाडि बढाउने जनाएको छ। निगमका अनुसार हालसम्म कति मट्टितेल मिसावट भएको भन्ने निश्चित नभएका कारण थप परीक्षणका लागि स्याम्पल भारत पठाउने तयारी गरिएको छ।
८० हजार लिटर डिजेलमा मट्टितेल मिसावट भएको ठहर, थप परीक्षण गर्न नमुना भारत पठाइँदै
भारतबाट नेपाल ल्याइएको ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरिएको छानबिन समितिले ठहर गरेको छ।

