काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश–१ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश–१ को नाम कोसी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् ।
फागुन १७ गते प्रदेश अध्यक्ष दीपक याक्खा र १९ गते पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कोसी प्रदेश नामकरणको विरोध गरेका हुन् ।
“कोसी प्रदेश हुनुपर्छ भनेर कहीँ कतै आन्दोलन भएन । कहीँ कतैबाट नमागेको नाम जबरजस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ प्रदेशको नाम ऐतिहासिक थाकथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किराँत शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने जसपा नेपालले राख्दै आएको छ ।
ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म बालिदानीपूर्ण संघर्षका लागि होमिन बाध्य हुने छौँ,” बुधबार अध्यक्ष याक्खाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार पार्टी सम्बद्ध पहिचानमा आधारित राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी षड्यन्त्रपूर्वक कोसी प्रदेश नामकरणपछि त्यो क्षेत्रको राजनीतिक कोर्स परिवर्तन भएको र यस भूमिमा विद्रोहको दिर्घकालिन विजारोपण गरेको उल्लेख गरिएको छ ।
सबै सरोकारवालाहरुसँग मिलेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने तथा घोषित कार्यक्रमहरुप्रति समर्थन रहने विज्ञप्तिमा उल्लेख छ ।
साथै जसपा, नेपालको सांसदलाई मत दिन बञ्चित गरिएको भन्दै यस बारेमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग गरिएको छ ।
कोसी प्रदेश नामकरणप्रति जसपाको विरोध
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश–१ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश–१ को नाम कोसी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् ।

