सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँदछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गरेका छन् ।

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँदछु : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गरेका छन् । उनले नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा औषधिजन्य जडीबुटी उपलब्धताका हिसाबले महत्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै मुलुकको गौरवका रूपमा स्थापित वैद्यखानालाई थप गति दिने विश्वास दिलाएका हुन् । अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालको आयुर्वेद चिकित्सालाई थप विस्तार गरिने जानकारी दिएका छन्। अतिआवश्यक जडीबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गरिने स्पष्ट पारेका छन्। उनले भने, “सरकारका तर्फबाट राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्णरूपमा क्रियाशील बनाई नेपालका रैथाने जडीबुटीको अध्ययन–अनुसन्धानलाई द्रुतगतिमा अगाडि बढाउन आवश्यक नीतिगत निर्णय गरिनेछ ।” प्रधानमन्त्री दाहालले सातवटै प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी सङ्कलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति अगाडि सारिएको जानकारी दिए । उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवद्र्धन गर्ने सरकारको योजना रहेको बताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयुर्वेदको प्रवद्र्धनका लागि भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले आयुष मन्त्रालय नै स्थापना गरेर यस क्षेत्रलाई महत्व दिएको बताए । उनले आयुर्वेद तथा प्राकृतिक चिकित्सा, जडीबुटीको क्षेत्रमा दुई देशले एकापसमा सहकार्यका लागि केही प्रयास अगाडि बढाइसकेको र आगामी दिनमा यसले थप सार्थकता पाउने उल्लेख गरेका छन् । सम्मेलन आगामी आइतबारसम्म चल्नेछ ।