सर्वोच्चबाट मुद्दा जितेका उपरथी शाहीलाई सेवाबाट हटाउन सैनिक अदालतको आदेश

नेपाली सेनाका मेजर जनरल (उपरथी) प्रेम शाही भ्रष्टाचारको आरोपमा दोषी ठहर भई पदमुक्त गरिएका छन् ।

सर्वोच्चबाट मुद्दा जितेका उपरथी शाहीलाई सेवाबाट हटाउन सैनिक अदालतको आदेश
काठमाडौं । नेपाली सेनाका मेजर जनरल (उपरथी) प्रेम शाही भ्रष्टाचारको आरोपमा दोषी ठहर भई पदमुक्त गरिएका छन् । उनलाई सैनिक अदालतले दोषी ठहर गरी पदमुक्त गरेको हो । नेपाली सेनाका प्रवक्ता उपरथी कृष्णप्रसाद भण्डारीले कोर्ट मार्शलले आर्थिक अनियमितताको पुष्टि गरेपछि सेवाबाट हटाइएको जानकारी दिएका छन् । भण्डारीमाथिको अनुसन्धानमा तानिएका कर्णेलहरु महेन्द्रजंग शाह र कुलदीप तिमिल्सेनामाथि आन्तरिक कारबाही हुने प्रवक्ता भण्डारीले बताए । सैनिक अदालत गठन भई उनीहरु छानविनका लागि राखिएका थिए । पुष १९ मा सैनिक अदालतको नियन्त्रणमा परेका प्रेम शाहीलाई सैनिक अदालतले छानविन गर्दा थप दुई सैनिक अधिकृत तानिएका थिए । सेनापति प्रभुराम शर्माले केही दिन अघि पश्चिम नेपालको बुटवलमा आयोजित कार्यक्रममा सेनालाई आलोचित बनाउनेहरुविरुद्ध शतर्क हुनुपर्ने बताएलगत्तै उपरथी शाहीमाथि कारबाही भएको हो । सेवाबाट हटाइएका शाही यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका विश्वासपात्र मानिन्थे । उनले थापाको कार्यकालमा महत्वपूर्ण निकायमा थिए । प्रेम शाही शैक्षिक प्रमाणपत्रमा उमेर फरक परेकाले कारबाहीमा परेका थिए । तर, सर्वोच्च अदालत पुगेर मुद्दा जितेर आएका थिए । त्यसपछि उनलाई १९ पौषमा सैनिक अदालत गठन गरी नियन्त्रणमा राखिएको थियो ।