बाबुद्वारा दुई वर्षीया छोरीको हत्या

बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा आफ्नै बाबुले दुई वर्षीया छोरीको हत्या गरेका छन् ।

बाबुद्वारा दुई वर्षीया छोरीको हत्या
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा आफ्नै बाबुले दुई वर्षीया छोरीको हत्या गरेका छन् । सर्कुवाका २० वर्षीया सायर दिनले बुधबाार साँझ आफ्नै नाबालिका छोरी आरिसा दिनको विभत्स हत्या गरेका हुन् । घरमा कोही नभएको मौका छोपेर सायरले छोरीको टाउकोमा प्रहार गरेका थिए । टाउकोमा गहिरो चोट लागेकी नाबालिकाको घटनास्थलमै निधन भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । आरोपी सायर प्रहरी नियन्त्रणमा छन् । प्रारम्भिक सोधपुछका क्रममा सायरले छोरीको हत्या गरेको स्वीकार गरेका छन् । हत्यापछि घर छोडेर भागेका सायरलाई प्रहरीले गाउँमै लुकिबसेको ठाउँबाट पक्राउ गरेको थियो । शव पोष्टमार्टमको लागि धौलागिरि अस्पताल राखिएको छ । हत्याको कारण खुल्न सकेको छैन ।