मगर संघको अधिवेशन : राजनैतिक भागबन्डा नमिल्दा अनिश्चितकालका लागि स्थगित

अध्यक्षमा तीन जनाले आफ्नो दाबी पेश गरेपनि अन्तिमसम्म प्रयास गर्दा समेत सहमति हुन नसक्दा अधिवेशन नै स्थगित गर्नुपरेको निर्वाचन समितिका संयोजक खगेन्द्र पुनमगरले जानकारी दिए ।

मगर संघको अधिवेशन : राजनैतिक भागबन्डा नमिल्दा अनिश्चितकालका लागि स्थगित
रामप्रसाद घिमिरे, बागलुङ । नेपाल मगर संघ बागलुङको नवौं अधिवेशनमा सहमति जुट्न नसक्दा अनिश्चितकालका लागि स्थगित भएको छ । संघको नयाँ नेतृत्वका लागि ३ जनाको उम्मेदवारी परेपछि सहमति हुन नसक्दा अधिवेशन स्थगित भएको हो । अध्यक्षमा तीन जनाले आफ्नो दाबी पेश गरेपनि अन्तिमसम्म प्रयास गर्दा समेत सहमति हुन नसक्दा अधिवेशन नै स्थगित गर्नुपरेको निर्वाचन समितिका संयोजक खगेन्द्र पुनमगरले जानकारी दिए । 'अध्यक्षका लागि गगन पुनमगर, श्याम पुनमगर र गीता श्रीषको उम्मेदवारी परेको थियो,' संयोजक पुनले भने, हामीले सहमतिका लागि अन्तिमसम्म प्रयास गरेपनि तीनै जना आफ्नो दाबीबाट पछि हट्नु भएन त्यसैकारण अनिश्चितकालका लागि स्थगित गरिएको छ । यता सचिव पदमा पनि तीन जनाको उम्मेदवारी परेका छ । किशोर थापा मगरले उम्मेदवारी फिर्ता लिएर रेशम घर्ती मगर र तिलक घर्ती मगरलाई छोडे पनि सर्वसम्मत हुन सकेन । 'हामी सहमतिका लागि हदैसम्मको सहमति गर्दा समेत अध्यक्ष मण्डलका सदस्य नेताहरुले नेतृत्वमा आफ्नो मान्छे पार्ने भन्दै अड्डि कस्नुभो,' सचिव पदका उम्मेदवार रेशम घर्ति मगरले भने, 'अन्तिम समयमा सहमति जुटिसकेको थियो तर केही नेताहरू आफ्ना प्रतिनिधिसहित हलबाटै बाहिरिनु भयो त्यसकारण स्थगित भएको हो ।' सामाजिक संस्थाको नेतृत्व चयनमा सहज हुनुपर्नेमा एकअर्काको व्याक्तिगत स्वार्थका कारण सहमति जुट्न नसकी अनिश्चितकालका लागि स्थगित हुनु राम्रो पक्ष नभएको संघका एक नेताले बताए । संघको नेतृत्वका लागि राजनीतिक आस्थाका आधारमा भागवण्डा नमिलेकाले अधिवेशन स्थगित भएको ती नेताले बताए । उनकाअनुसार नेपाली कांग्रेस निकट गीता श्रीष, नेकपा माओवादी केन्द्र निकट गगन पुन र एकिकृत समाजवादी निकट श्याम पुनले आफ्नो दावी छाडेका छैनन् ।