सन्दीपलाई विदेश पठाउने तयारी,अझै आईसीसीको निर्णय कुर्दै क्यान

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई टिममा समावेश गर्नेबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्णय कुरिरहेको छ ।

सन्दीपलाई विदेश पठाउने तयारी,अझै आईसीसीको निर्णय कुर्दै क्यान
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई टिममा समावेश गर्नेबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्णय कुरिरहेको छ । सर्वोच्च अदातलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीपलाई विदेशमा गएर क्रिकेट खेल्न पाउने अनुमति दिएपछि क्यानले उनलाई टिममा राख्न आईसीसीसँग औपचारिक छलफल गरिरहेको छ । युएईमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले बिहीबार घरेलु टोली युएईसँग खेल्ने तालिका रहेको छ । त्यससँगै नेपालले थप दुई खेल खेल्ने तालिका पनि छ । तर आईसीसीले टिममा सन्दीपलाई समावेश गर्न सकिने वा नसकिनेबारे अहिलेसम्म प्रस्ट नपारेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए । ‘अहिले पनि हामी आईसीसीको पदाधिकारीसँग निरन्तर छलफलमा छौँ । आईसीसीले स्विकृति दिए सन्दीपलाई आजै युएई पठाइनेछ, पाठकले इकागजलाई बताए । सन्दीपको भिषा भने आइसकेको छ । सन्दीपमाथि एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । उक्त मुद्दा अहिले जिल्ला अदातल काठमाडौँमा विचाराधीन छ ।