हाकिमसँग अफेयर!

झरीमा पनि धुलिखेलको सुन्दरतामा केही खोट थिएन। रिसोर्टबाट बाहिर हेर्दा छर्लंगै हिमालहरू नदेखिएता पनि वरिपरिको हरियालीले आँखाको बाटो हुँदै मन नै शितल बनाउने गर्दथ्यो। हुन त म मधेसमा जन्में, हुर्कें ता पनि पहाडप्रति मेरो मोह बेस्सरी थियो। थाहा छैन त्यो कति बेला कहाँबाट पलायो। बाहिर…

हाकिमसँग अफेयर!
झरीमा पनि धुलिखेलको सुन्दरतामा केही खोट थिएन। रिसोर्टबाट बाहिर हेर्दा छर्लंगै हिमालहरू नदेखिएता पनि वरिपरिको हरियालीले आँखाको बाटो हुँदै मन नै शितल बनाउने गर्दथ्यो। हुन त म मधेसमा जन्में, हुर्कें ता पनि पहाडप्रति मेरो मोह बेस्सरी थियो। थाहा छैन त्यो कति बेला कहाँबाट पलायो। बाहिर बसेर टोलाउँदा टोलाउँदै रातको सात बजिसकेछ। ओहो! मैले त घरमा कल गरेर आइपुगेको जानकारी पनि दिएकी छैन। ब्यागबाट मोबाइल निकालें र कल गरें ,  ‘हेलो के गर्दैछौ? छोरो सुत्यो?......’ यस्तै यस्तै कुरा सोध्दै र सुनाउँदै मैले फोन राखें। बाहिरबाट ढोका बज्यो। मैले ढोका खोलें। होटलका कर्मचारी आएका रहेछन्। खाना खान जाने सन्देश लिएर। म फ्रेस भएर खाना खान लागें। रिसोर्टको बाहिरी खुला ठाउँलाई बत्तीले ढकमक्क सजाइएको रहेछ। यस्तो गर्मीमा पनि चिसो हावाको बेगले छुट्टै आनन्द दिइरहेको थियो। रातको अँध्यारोमा बत्तीको मद्दतले केही चिनेको अनुहारहरू देखिरहेको थिएँ। केही अनुहार भने चिनेको हो कि हो कि जस्तो पनि थियो। सबैको हातमा ग्लासहरू थिए तर त्यो ग्लासभित्र कसको के थियो त्यो मैले बत्तीको उज्यालोमा ठम्याउन सकिनँ र चेष्टा नि गरिनँ। ‘रुबि होइन?’ भन्दै हाँसु कि नहाँसु अनुहार बनाउँदै टाइट पेन्ट र सेतो टप्स लगाएकी केटि मेरो छेउमा आई। म भने उसलाई चिनें कि चिनिनँ म आफैंसँग उत्तर थिएन। अनि जवाफ दिएँ- हजुर म रुबि नै हो। ‘मलाई चिन्नुभएन जस्तो छ प्रदेश १ को गरिबी उन्मूलन कार्यक्रममा हामी दुबै चन्द्रगढीमा सँगै बसेको थियौं नि?’ ‘हो हो मैले चिनें अनि के छ खबर?’ उसले जवाफ फर्काई - मेरो ठिक छ बरू तपाईंलाई बधाई छ है उपसचिव बन्नुभएछ नि मैले धन्यवाद फर्काएँ। उनले सोधिन्- अनि अफिसबाट को को आउनु भएको छ नि? मैले जवाफ फर्काएँ, ‘म र सहायक आएको तर सहायक सरको व्यक्तिगत कामले गर्दा काठमाडौं जानुभएको छ भोलि तालिम अगाडि आइपुग्नु हुन्छ रे, अनि तपाईंको अफिसबाट नि? ‘म र हाकिम आको छौं’ त्यतिबैले उसको मोबाइलबाट टङ्ग गरेर म्यासेजको घन्टी बज्यो। उसले मोबाइलको म्यासेज खोलिन् र मुसुक्क हाँसिन्। मैले बोल्नमात्र के सुरू गरेको थिएँ उनी ट्यापट्यापट्याप गरेर म्यासेज लेख्न थालिन्। मलाई यो बुझ्न कतिबेर पनि लागेन कि उनले त्यही म्यासेजको रिप्लाई गर्दै थिइन्। म चुपचाप बसिरहें। वरिपरिका मान्छेहरू अघि खाएका कुराहरूलाई पचाउँदै थिए। कोही ठूलो ठूलो स्वरमा गाउँदै थिए, कोही गफिँदै थिए। अनि कोही भने चाहिँ एक अर्कासँग आफ्नो परिचय गर्दै थिए। ‘खाना नखाने?’ ‘अब खानुपर्छ’ ‘एकछिन ल म हाकिमलाई पनि बोलाउँछुु’ मैले ‘हुन्छ’ भन्न पनि नपाई फेरि मोबाइल ट्यापट्यापट्याप गर्न थालिन्। ‘तिम्रो हाकिम चै कता हुनुहुन्छ?’ म बोल्दाबोल्दै उसको मोबाइल ट्याङ्ग गर्यो।  मेरो प्रश्नको जवाफभन्दा पहिले मोबाइलको म्यासेज हेरिन् र भनिन्- ‘उता साथीहरूसँग हुनुहुन्छ रे, हामी चाहिँ खाना खाऊँ है।’ हामी एक एक वटा प्लेट उचालेर खाना लगाउँदै गयौं। हेर्दा मुख नै रसाउने परिकार बनेका थिए तर धेरै परिकार मसलेदार भएको कारणले गर्दा मैले थोरै थोरै लिएँ अनि प्लेट बोकेर बस्ने ठाँउतिर लागें। उनले प्लेटभरि खाना अटाई नअटाई लिएर आइन् र भनिन्- कति थोरै खाना? त्यही भएर पो दुब्लो हुनुभएको रहेछ। म बोल्न के लागेकी थिए फेरि बोलिन्- केटा मान्छेलाई त मोटी केटी पो मनपर्छ है आजकल कर्भीको जमाना छ रे। उनी धेरै बोल्छिन् भन्ने कुरा त योभन्दा अघिको भेटमा नै थाहा थियो। तर यो भेटमा भने उनी अलि बढी नै बोलेकीजस्तो भान हुँदै थियो। मैले पनि उसलाई व्यंग्यात्मक शैलीमा सोधें– केटाहरू पो भन्नुभयो त को को पर्छन् यो हरू मा? उनी हल्का लजाइन् र भनिन्- छन् दुई चार जना मैले प्रतिप्रश्न गरें- दुई चार जना, बुढादेखि बाहेक? उनलाई अप्ठ्यारो लाग्यो क्यारे र भनिन्- हैन एक जनामात्र। अब भने मलाई अप्ठ्यारो लाग्यो म झोक्किएर सोधेको मेरो प्रश्नको सिधासिधा जवाफ फर्काइरहेकी थिइन् उनी।  मलाई भने अर्काको प्राइभेट लाइफमा टाङ अड्याएकोजस्तो ग्लानि भइरहेको थियो। त्यसैले कुरा मोड्नलाई सोधें- अनि तपाईंको हाकिम चैं कता खाना खाँदै हुनुहुन्छ रे? उनले भनिन्- त्यही हाकिम नै हो मैले भनेको एक जना, अरू कोही छैन। यत्तिकैमा बत्ती झ्याप्प गयो। म झसंग भए उसको हाकिमसँग अफेयर रहेछभन्दा बढी त्यही व्यक्तिको कुरा गर्न पुगेछु, जुन उसको नितान्त व्यक्तिगत विषय थियो जसलाई जानी नजानी म उदांगो बनाइरहेकी थिएँ। बत्ती बल्यो। हामी खाना खाँदै गफियौं। यो बेलाचाहिँ मैले विशेष ख्याल गरिरहेकी थिएँ कि म प्रश्न सोध्नेभन्दा उत्तर दिने काम बढी गर्नेछु भनेर। हामीले खाना खाएर प्लेट रित्यायौं। ‘कति हो रूम नम्बर’ ‘१०५ अनि तपाईंको नि’ ‘हामी बाहिर बस्ने सरले त्यही भन्दै हुनुहुन्थ्यो’ लामो कुरा गर्न मलाई मन थिएन त्यसैले कुरा छोट्याउन विचार गरेर मैले भनें- ‘अब हामी छुट्नुपर्ला १० बजेछ’-हातको घडी हेर्दै मैले भनें। ‘एकछिन बस्नु न सर आइपुग्नु भएको छैन म एक्लै के गर्ने’ अनि हामी हाम्रो बच्चा, परिवार, काम आदिको बारेमा कुराकानी गर्न थाल्यौं। कुराकानीमा धेरै विषयहरू अटाएता पनि श्रीमान भने अटाएन र मैले त्यो विषय थप्न उपयुक्त पनि ठानिनँ। ११ बज्यो निन्द्राले मेरो आँखा रातो भइसकेको थियो। यो कुरा उनले बुझिन् वा उनलाई पनि त्यस्तै भइरहेको थियो त्यो मलाई थाहा भएन। मोबाइल झिकिन् र ट्यापट्यापट्याप गर्न थालिन् तर यो पटक मोबाइलले ‘टङ्व’ वाला आवाज दिएन। म निन्द्राले बोल्नै नसक्ने अवस्थामा थिए। उनी पनि केही नबोली बसिन्। हामी केहीबेर चुपचाप भयौं। उनले कसैलाई फोन घुमाई म निन्द्रामै अन्दाज गरिरहेकी थिएँ कि त्यो व्यक्ति उसको हाकिम नै हो। उताबाट फोन उठेन वा काटियो। तर यो पटक मोबाइल बज्यो ‘ट्याङ’ मोबाइल हेर्दै गर्दा उसको अनुहारले नीलो कालो हुँदै धेरै रंगहरू फेरिरहेको थियो तर यो पटक केही प्रश्न गर्ने आँट मभित्र थिएन। ‘यो केटाहरू लास्टमा त सबै बोका नै त हुन्’ केटाप्रतिको उसको टिप्पणी सुनेर म छक्क परें। सायद यो वाक्य सुन्न म तयार थिइनँ। ‘ऊ त्यो रातो ज्याकेट लगाउने मेरो हाकिम हो, त्यै केटीसँग आएदेखि टाँसिराको छन्, अब म यैं बस्नुपर्ने रे भनेपछि हाकिम त्यै केटीसँग जाने होला, मलाई राम्रोसँग था’छ यो मान्छेको बानी,कम्ताको बोका छन्’ आँखा घुमाएर जब मैले रातो ज्याकेटतिर हेरें तब मेरो निन्द्रामात्र हैन होस हवास हरायो। मधुरो बत्तीको प्रकाशमा पनि चिन्थें म ती आँखाहरू जससँग म घन्टौं जुधाउँथे। हाँस्दा देखिने त्यही नमिलेका दाँतहरू, त्यही ठूलो निधार। म स्तब्ध भएँ। त्यो त्यही मान्छे थियो जोसँग बागबजारको इन्स्टिच्युटमा मीठा मीठा अतितहरू बनाएकी थिएँ। जसले मलाई माया गर्न सिकाएको थियो