कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर

कांग्रेसका निलम्बित सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर भएका छन्।

कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर
काठमाडौं । कांग्रेसका निलम्बित सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर भएका छन्। भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएको सम्बन्धी भ्रष्टाचार मुद्दामा गुरुङसहित नौ जनालाई विशेष अदालतले मंगलबार दोषी ठहर गरेको हो। यस्तै, कसुरदार ठहरिनेमा तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने पनि छन्। उनी समाजकल्याण परिषद्का तत्कालीन अध्यक्षसमेत हुन्। उनी चुरेभावर पार्टीबाट मन्त्री बनेका थिए। नेकपा हुँदै एमालेमा गएका न्यौपाने उक्त पार्टीबाट पनि बाहिरिइसकेका छन्। परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव भनिने रवीन्द्र कुमार, सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपाने र काठमाडौं फनपार्कका प्रमुख सञ्चालक रवीन्द्र गुरुङ पनि दोषी ठहरिएका छन्। उनीहरूलाई सजाय भने निर्धारण भइसकेको छैन। टेकबहादुर गुरुङलाई मतियारका रूपमा दोषी ठहर गरिएको विशेषका उपरजिस्टार एवं प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए। ‘ गुरुङलाई मतियारको रूपमा कसुरदार बनाइएको छ। यसको अन्तिम पेसी २५ गतेका लागि तोकिएको छ, प्रवक्ता योगीले भने। गुरुङ त्यस बेला काठमाडौं फनपार्क मेला सञ्चालक थिए।