अमेरिकी सेनामाथि आक्रमण गर्न इरानद्वारा इलन मस्कको ‘स्टारलिंक’ प्रयोग

रोयटर्सका अनुसार अमेरिकी रक्षा मन्त्रालयकी प्रवक्ताले स्टारलिंकको प्रयोगबारे रक्षामन्त्रीलाई बुझाइएको भनिएको गोप्य प्रतिवेदनबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएकी छन् ।

अमेरिकी सेनामाथि आक्रमण गर्न इरानद्वारा इलन मस्कको ‘स्टारलिंक’ प्रयोग

एजेन्सी । अमेरिकी सेनामाथि आक्रमण गर्न इरानले अर्बपति इलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’ प्रयोग गरेको खुलासा भएको छ । अमेरिकी अखबार द वासिङ्टन पोस्टले उद्धृत गर्दै इरानले अमेरिकाविरुद्धका सैन्य कारबाहीमा स्टारलिंक प्रयोग गरेको समाचार प्रकाशित गरेको हो ।

समाचार अनुसार इरानले सैन्य गतिविधिबारे सूचना आदानप्रदान गर्न र विस्फोटक पदार्थ बोकेका मानवरहित विमान (ड्रोन) सञ्चालन गर्न स्टारलिंकको सहारा लिएको थियो । यद्यपि, इरानले ठ्याक्कै कुन आक्रमणमा यसको प्रयोग गरेको थियो भन्ने स्पष्ट भइसकेको छैन । गत मार्च १ मा कुवेतको पोर्ट सुआइबामा भएको ड्रोन आक्रमणमा ६ अमेरिकी सैनिकको मृत्यु भएको थियो, तर उक्त आक्रमणमा स्टारलिंक प्रयोग भए । नभएको पुष्टि भएको छैन ।

रोयटर्सका अनुसार अमेरिकी रक्षा मन्त्रालयकी प्रवक्ताले स्टारलिंकको प्रयोगबारे रक्षामन्त्रीलाई बुझाइएको भनिएको गोप्य प्रतिवेदनबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएकी छन् ।

कसरी काम गर्छ स्टारलिंकले ?

स्टारलिंकले आकाशमा रहेका स्याटेलाइटमार्फत सिधै इन्टरनेट सेवा प्रदान गर्छ । यसका लागि जमिनमा तार बिछ्याउन वा मोबाइल टावर बनाउनुपर्दैन । सानो उपकरणमार्फत स्याटेलाइटसँग सम्पर्क गरी दुर्गम वा इन्टरनेट सेवा अवरुद्ध पारिएका क्षेत्रमा समेत सहजै इन्टरनेट चलाउन सकिन्छ । यही प्रविधिले सेनालाई टाढाबाटै सूचना पठाउन र ड्रोनको सञ्चार सम्पर्क कायम राख्न मद्दत पुर्‍याएको हो ।

मस्कको आक्रोश र अमेरिकी सेनासँगको विवाद

इरानमा स्टारलिंक प्रतिबन्धित छ । तर, इरान सरकारले इन्टरनेट बन्द गर्दा त्यहाँका सर्वसाधारण र सरकारका आलोचकहरूलाई बाहिरी संसारसँग जोड्न मस्कले सेवा सक्रिय राखेका थिए । सर्वसाधारणको सहजताका लागि खुला राखिएको सेवा इरानी सेनाले अमेरिकाविरुद्धकै युद्धमा प्रयोग गरेको थाहा पाएपछि मस्क आक्रोशित बनेको वासिङ्टन पोस्टले जनाएको छ ।

अर्कोतर्फ, अमेरिकी सेनाको कार्यशैलीप्रति पनि मस्क रुष्ट देखिएका छन् । अमेरिकी सेनाले स्टारलिंकको सैन्य संस्करण ‘स्टारसिल्ड’ प्रयोग गरी ‘लुकास’ ड्रोन उडाएको थियो । हवाई गतिविधिका लागि महँगो योजना लिनुपर्नेमा सेनाले जमिनमा आधारित गतिविधिका लागि मात्र अनुमति भएको सस्तो योजना लिएर महँगो प्रविधि चलाएको र शुल्कसमेत नतिरेको मस्कको आरोप छ ।

मस्कले गत मार्च १ मै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत हतियार प्रणालीमा व्यावसायिक स्टारलिंक प्रयोग गर्नु सेवाका सर्तविपरीत रहेको उल्लेख गर्दै त्यस्तो पाइए सेवा बन्द गरिने चेतावनी दिएका थिए ।