बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–५ खार बजारमा जारी न्वागी मेलामा घुम्ने पिङ भाच्चिँदा एक महिला गम्भीर घाइते भएकी छन्।
मंसिर ६ गतेदेखि सञ्चालनमा रहेको मेलामा काठ र फलामबाट निर्मित घुम्ने पिङ खेल्ने क्रममा पिर्का भाच्चिँदा गुल्मीको मालिका गाउँपालिका–१ की ४५ वर्षीया सुस्मा थापा घाइते भएकी हुन्। आज (शनिबार) साँझ करिब ५ बजेतिर उक्त घटना भएको हो।
थापाको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ। स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई गलकोट नगर अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । घटनालगत्तै पिङ सञ्चालक बागलुङको तमानखोला गाउँपालिका–३ तमानका ५२ वर्षीय काले कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी ग्वालीचौरभन्दा करिब १०० मिटर पश्चिममा भएको उक्त घटनास्थलमा प्रहरी सहायक निरीक्षक डेड बहादुर थापाको कमाण्डमा ९ जना र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको कमाण्डमा ७ जनाको टोली खटिएको छ।

