इनमको आरोप : १५ असोजसम्म बन्धक बनाइयो, चोलेन्द्र र गगनविरुद्ध बयान दिन धम्की दिइयो

उनले सोधपुछका क्रममा विभिन्न व्यक्तिको नाम लिन लगाइएको र आफूले त्यस्तो बयान नदिए परिवारलाई समेत समस्यामा पार्ने चेतावनी दिइएको आरोप लगाएका छन्।

इनमको आरोप : १५ असोजसम्म बन्धक बनाइयो, चोलेन्द्र र गगनविरुद्ध बयान दिन धम्की दिइयो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्कका कारण प्रहरी अनुसन्धानमा तानिएका ३० वर्षीय इनम सापकोटाले आफूलाई अज्ञातस्थलमा राखेर विभिन्न उच्चपदस्थ व्यक्ति तथा व्यवसायीविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएका छन्।

कांग्रेस सभापति गगन थापादेखि पूर्वप्रधानन्यायाधीश जबरा र व्यवसायीहरूसम्मको नाम लिएर बयान दिन धम्की दिइएको, आँखामा पट्टी बाँधेर मानसिक यातना दिएको र घर खानतलासीका क्रममा विदेशी मुद्रा फेला परेको देखाउँदै मुचुल्का बनाइएको उनको दाबी छ। अर्कोतर्फ, प्रहरीले सापकोटाको मोबाइलमा अदालतका मुद्दा मिलाइदिने र प्रहरी अधिकारीको बढुवामा सहयोग गर्ने आशयका सन्देश भेटिएको जनाएको छ।

सापकोटाले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदन र प्रहरी अनुसन्धानबाट सार्वजनिक भएका यी फरक विवरणले घटनाको निष्पक्ष छानबिन र वास्तविकता सार्वजनिक गर्नुपर्ने आवश्यकता देखाएको छ।

राष्ट्रिय मानवअधिकार आयोगमा उनकी श्रीमती कविता पाण्डेमार्फत दर्ता गराइएको निवेदनमा बयान नदिए आफू र परिवारलाई झुटा मुद्दामा फसाउने तथा ज्यानसमेत जोखिममा पार्ने धम्की दिइएको उल्लेख छ। त्यति मात्र होइन, प्रहरीले घर खानतलासी गर्दा नभेटिएको विदेशी मुद्रा सुटकेसबाट निकालेर बरामद भएको देखाउँदै मुचुल्का तयार पारेको आरोपसमेत निवेदनमा लगाइएको छ।

अर्कोतर्फ, प्रहरीले भने सापकोटाको मोबाइलमा अदालतका मुद्दा मिलाइदिने र प्रहरी अधिकारीको बढुवामा सहयोग गर्ने आशयका सन्देश फेला परेको दाबी गरेको छ। यसले इनम प्रकरणमा प्रहरी अनुसन्धानको प्रक्रिया र त्यसक्रममा भएका भनिएका गतिविधिमाथि गम्भीर प्रश्न उठाएको छ।

इनम सापकोटाले मानवअधिकार आयोगमा दिएको निवेदनमा आफूलाई सोधपुछका क्रममा विभिन्न व्यक्तिविरुद्ध बयान दिन बाध्य पारिएको उल्लेख गरेका छन्। उनका अनुसार सोधपुछ गर्ने व्यक्तिहरूले व्यक्तिगत रूपमा आफूहरूसँग कुनै समस्या नभएको भन्दै निश्चित व्यक्तिको नाम लिएर बयान दिए अनुसन्धानबाट छुटकारा पाउने आश्वासन दिएका थिए।

निवेदनमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र हिमालय होटलका नवीन तुलाधरविरुद्ध प्रमाण तथा बयान दिन दबाब दिइएको दाबी गरिएको छ। त्यसैगरी सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशविरुद्ध समेत बयान दिन भनिएको उनको आरोप छ।

निवेदनमा उल्लेख भएअनुसार ती व्यक्तिविरुद्ध बयान दिए आफूलाई छाडिदिने तर त्यसो नगरे आफू मात्र नभई परिवारका सदस्यले समेत दुःख पाउने धम्की दिइएको थियो।

सापकोटाले तीमध्ये केही व्यक्तिसँग आफ्नो अत्यन्त राम्रो सम्बन्ध रहेको र केहीलाई आफूले चिन्दै नचिनेको निवेदनमा उल्लेख गरेका छन्। आफूले भनेअनुसार बयान नदिए लामो समय जेल बस्नुपर्ने गरी झुटा मुद्दा लगाइदिने र परिवारको जिउज्यानसमेत जोखिममा पार्ने चेतावनी दिइएको उनको दाबी छ।

सापकोटाकी श्रीमती कविता पाण्डेले उनको जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गराएकी छन्। उक्त निवेदनमा विमानस्थल क्षेत्रबाट नियन्त्रणमा लिएपछि आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा पुर्‍याइएको र इच्छाविपरीत बयान गराई हस्ताक्षरसमेत गराइएको उल्लेख छ।

सापकोटाका अनुसार उनलाई १४ देखि १५ असोजको साँझसम्म आँखामा पट्टी बाँधेरै अज्ञातस्थलमा राखिएको थियो। उक्त अवधिमा विभिन्न विषयमा सोधपुछ गरिएको र आफूले भनेजस्तो बयान दिन दबाब दिइएको निवेदनमा उल्लेख छ।

निवेदनमा भनिएको छ, ‘निजहरूले मलाई १४ देखि १५ असोज साँझसम्म अज्ञात स्थलमा कालोपट्टी लगाएर नै राखेका थिए। सो अवधिमा मसँग विभिन्न कुराहरू सोधपुछ गरेका थिए।’

उनले सोधपुछका क्रममा विभिन्न व्यक्तिको नाम लिन लगाइएको र आफूले त्यस्तो बयान नदिए परिवारलाई समेत समस्यामा पार्ने चेतावनी दिइएको आरोप लगाएका छन्।

इनमले प्रहरीको खानतलासी प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्। उनको निवेदनअनुसार १६ असोजमा प्रहरी भ्यानमा राखेर पानीपोखरीस्थित अपार्टमेन्टमा पुर्‍याइएको थियो। त्यसपछि प्रहरीले घरका सबै कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा पुरानो ल्यापटप, पुरानो मोबाइल फोन र केही कागजात मात्र फेला परेको उनको दाबी छ। तर घरमा अन्य कुनै सामग्री नभेटिएपछि प्रहरीले घरबाहिर राखिएको सुटकेसभित्र रहेको साइड ब्यागबाट विदेशी मुद्रा निकालेको उनले आरोप लगाएका छन्।

निवेदनमा उल्लेख भएअनुसार सुरुमा प्रहरीले घरमा केही नभेटिएको बताएको थियो। त्यसपछि एक प्रहरी कर्मचारीले इशारा गरेपछि सुटकेसबाट विदेशी मुद्रा निकालिएको र फोनमार्फत त्यति मात्र फेला परेको जानकारी गराइएको सापकोटाको दाबी छ।

उनले उक्त रकमलाई समेत घरभित्रै फेला परेको देखाएर मुचुल्का तयार पारिएको आरोप लगाएका छन्। निवेदनमा पुरानो ल्यापटप, मोबाइल फोन र सुटकेसबाट निकालिएको रकमलाई घरबाट बरामद भएको सामग्रीका रूपमा उल्लेख गरी कागजात बनाइएको दाबी गरिएको छ।