मृत्युदण्ड सुनाइएकी शेख हसिनाको १६ डिसेम्बरमा बाङ्ग्लादेश फर्कने घोषणा : ढाकामा तनाव, भारत दबाबमा

सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि सत्ताच्युत भई भारतमा शरण लिइरहेकी ७९ वर्षीया हसिनाले सन् १९७१ को मुक्तिसङ्ग्राममा पाकिस्तानमाथि विजय हासिल गरेको ऐतिहासिक दिन पारेर स्वदेश फर्कने योजना सार्वजनिक गरेकी हुन्।

मृत्युदण्ड सुनाइएकी शेख हसिनाको १६ डिसेम्बरमा बाङ्ग्लादेश फर्कने घोषणा : ढाकामा तनाव, भारत दबाबमा

ढाका । मानवताविरुद्धको अपराधमा मृत्युदण्डको फैसला सुनाइएकी बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी १६ डिसेम्बर (विजय दिवस) का दिन स्वदेश फर्कने घोषणा गरेपछि बाङ्ग्लादेशको राजनीति तातेको छ भने भारतमाथि कूटनीतिक दबाब बढेको छ।

सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि सत्ताच्युत भई भारतमा शरण लिइरहेकी ७९ वर्षीया हसिनाले सन् १९७१ को मुक्तिसङ्ग्राममा पाकिस्तानमाथि विजय हासिल गरेको ऐतिहासिक दिन पारेर स्वदेश फर्कने योजना सार्वजनिक गरेकी हुन्।

हसिनाले दिल्लीबाट ढाका फर्कन बाङ्ग्लादेश सरकारसँग राष्ट्रिय ध्वजावाहक विमानको व्यवस्था गरिदिन आग्रह गरेकी छन्। सरकारी उडान नपाए नियमित उडान वा ४,०९६ किलोमिटर लामो भारत–बाङ्ग्लादेश सीमाका नौ सम्भावित नाका हुँदै स्थलमार्ग वा पैदलसमेत देश प्रवेश गर्न सक्ने उनका सहयोगी अबु ओबैधा अरिनले बताएका छन्।

यता, प्रधानमन्त्री तारिक रहमान नेतृत्वको वर्तमान बाङ्ग्लादेशी सरकारले भने हसिनाको प्रस्तावलाई अस्वीकार गर्दै उनी फर्केमा तत्काल पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिने चेतावनी दिएको छ। बाङ्ग्लादेशका विदेश राज्यमन्त्री हुमायूँ कबिरले हसिना सामान्य यात्रु नभई दोषी ठहर व्यक्ति भएकाले उनलाई सुपुर्दगी प्रक्रियामार्फत हतकडी लगाएर मात्र ल्याउन सकिने प्रतिक्रिया दिएका छन्।

निर्वासनमा रहेर पनि हसिनाले टेलिग्राममार्फत देशभरका कार्यकर्तासँग ३०० भन्दा बढी संवाद गरी सङ्गठनलाई सक्रिय राखेको उनका सहयोगीहरूको दाबी छ। हसिनाको स्वागतका लागि सीमादेखि ढाकासम्म ५० लाख मानिस उतारेर मानवसाङ्लो बनाउने तयारी भइरहेको अवामी लीग पक्षले जनाएको छ। पछिल्लो समय बाङ्ग्लादेशमा प्रतिबन्धित अवामी लीगका समर्थकहरूले आकस्मिक प्रदर्शन, आगजनी र तोडफोडका घटना बढाएका छन्। विशेषगरी हसिनाको गृहजिल्ला गोपालगन्जसहित विभिन्न स्थानमा भएका झडप र हिंसामा यो महिना मात्र ११ जनाको ज्यान गइसकेको छ।

विश्लेषकहरूका अनुसार हसिनाको यो घोषणा सत्तारूढ बीएनपी र विपक्षी दलहरूबीच देखिएको मतभेदको फाइदा उठाउँदै आफ्नो पार्टीलाई पुनः राजनीतिक बहसको केन्द्रमा ल्याउने रणनीति हो। अर्कोतर्फ, लामो समयकी सहयोगी हसिनालाई आश्रय दिइरहेको भारतका लागि यो विषय थप जटिल कूटनीतिक सङ्कट बन्दै गएको छ। भारतको विदेश मन्त्रालयले हसिनाको सुपुर्दगीसम्बन्धी बाङ्ग्लादेशको अनुरोध स्थापित प्रक्रियाअन्तर्गत अध्ययन भइरहेको जनाएको छ, तर स्वैच्छिक रूपमा स्वदेश फर्कने विषय अलग भएको स्पष्ट पारेको छ।