एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ

सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ ।

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ
काठमाडौँ । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ ।​ मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले उक्त प्रणालीको शुभारम्भ गरेकी हुन् । सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागको वेबसाइटमा सुरु गरेको छ । नयाँ प्रणालीसँगै सरकारी निकायहरूले आ–आफ्ना कार्यालयसँग सम्बन्धित सूचना तथा जानकारी निकायगत वेबसाइटमार्फत सरल एवं सहज रूपमा प्रकाशनमा ल्याउन सक्ने सूचना प्रविधि विभागले जनाएको छ । कार्यक्रममा मन्त्री शर्माले सरकारी सूचनाको सहज पहुँचका लागि नयाँ प्रयोग प्रभावकारी हुने बताइन् । एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट सरकारी कार्यालयका वेबसाइटमा एकरूपता आउने र वेबसाइट निर्माणमा लाग्ने खर्च कम हुने उनले बताइन् । विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका सरकारी निकायहरूका वेबसाइटहरूको अध्ययन तथा अनुसन्धान पश्चात नयाँ प्रणाली बनाइएको र यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइटकहरू अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायक लगायतका विशेषताहरूसहितका हुने बताइएको छ । त्यस्तै वेब मनिटरिङ प्रणालीले सरकारी निकायहरूको वेबसाइट ह्याक वा बन्द हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्ने सूचना प्रविधि विभागले जनाएको छ ।