काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियाविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
सर्वोच्चले बुधबार विपक्षीका नाममा कारण माग्ने गरी गरेको आदेशसँगै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निष्कर्षमा पुग्न दुवै पक्षबीच छलफलका लागि आगामी सोमबार (मंसिर १४ गते) को पेशी तोकेको छ । बोर्डको सीईओ छनोटको संक्षिप्त सूची सार्वजनिक भएपछि सर्वोच्च अदालतमा मंगलबार दायर भएको उक्त रिटमाथि बुधबार न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
आदेशमा निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई भनिएको छ ।
रिट निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सम्बन्धमा विषयवस्तुको प्रकृति हेर्दा दुवै पक्षबीच छलफल गरी निर्णयमा पुग्न उपयुक्त हुने ठहर गर्दै इजलासले मंसिर १४ गतेका लागि छलफलको पेसी तोकी सोको सूचना विपक्षीहरूलाई दिन आदेश गरेको छ ।
बुधबारको सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सतीश कृष्ण खरेल र डा. भिमार्जुन आचार्य तथा अधिवक्ता हरिप्रसाद मैनालीले बहस गरेका थिए ।
पर्यटन बोर्डको सीईओ छनोटका लागि कात्तिक २० गते सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूची कानुनसम्मत नभएको दाबी गर्दै पाँच जनाले वारेश सरोज कार्कीमार्फत् उत्प्रेषण र परमादेशलगायतको आदेश माग गरी रिट दायर गरेका थिए । यो रिटको आदेशसँगै विहीबारदेखि हुने सीईओका १६ जना प्रतिस्पुर्धीहरुको प्रस्तुतीकरणसहितको अन्तरवार्ता प्रभावित हुने भएको छ । यो रिटको टुंगो नलागेसम्म अब बोर्डले सीईओसमेत पाउने छैन् ।
रिट निवेदकहरूमा पर्यटन क्षेत्रको संगठित संस्थामा कार्यरत ज्ञानेश्वरप्रसाद सिंह महतो तथा नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धक अधिकृत उदय भट्टराई, नवीन पोखरेल, सूर्य थपलिया र वरिष्ठ प्रबन्धक अधिकृत प्रज्ञा घिमिरे रहेका छन् ।
रिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डको कार्यकारी समिति र कार्यकारी प्रमुख छनोट उपसमितिलाई विपक्षी बनाइएको छ ।
रिट निवेदनमा उल्लेख भएअनुसार लामो समयदेखि रिक्त बोर्डको प्रशासकीय प्रमुख नियुक्त गर्न कार्यकारी समितिले २०८३ भदौ २६ गते रामकृष्ण लामिछानेको संयोजकत्वमा कार्यकारी प्रमुख छनोट उपसमिति गठन गरेको थियो । सोही दिन उपसमितिले ‘नेपाल पर्यटन बोर्ड, कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३’ जारी गरी दरखास्त आह्वानको सूचना प्रकाशन गरेको थियो ।
निवेदकहरूले तोकिएबमोजिमको १५ हजार रुपैयाँ दस्तुर बुझाई आवश्यक कागजात तथा रणनीतिक कार्ययोजना र कार्यअनुभवको प्रतिवेदनसहित दरखास्त पेस गरेका थिए । तर, छनोट उपसमितिले कात्तिक २० गते रणनीतिक कार्ययोजना र कार्यअनुभव प्रतिवेदनको नतिजा भन्दै १६ जनाको संक्षिप्त सूची प्रकाशन गरेपछि विवाद उत्पन्न भएको हो ।

