काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई तत्काल पुनरबहाली गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गर्दै न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
आईजीपीमा मनोज केसीलाई नियुक्ति गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश नभएसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म केसीलाई काम गर्न खुला भएको छ।
सरकारले कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गर्दै केसीलाई आईजीपी नियुक्त गरेको थियो। त्यसैदिन दर्ज्यानी चिह्न लगाएर केसीले काम थाल्दा कार्की भने आफूलाई गैरकानुनी रुपमा हटाएको दाबी गर्दै सर्वोच्च पुगेका थिए।
कात्तिक २० गते दर्ता भएको रिटमा मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमै सुनुवाइ भएको थियो।
पौडेलको इजलासले अन्तरिम आदेश बारे निर्णय गर्नु पहिले दुवै पक्षको कुरा सुन्न आवश्यक रहेको भन्दै ७ गतेका लागि पेसी तोकेका थिए। तर ७ गतेसम्म पनि आईजीपी मनोज केसीले सर्वोच्च अदालतको आदेश नबुझेपछि त्यसदिन सुनुवाइ हुन सकेको थिएन।
उक्त दिन न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा पेसी परेको थियो। तर दुई दिनपछि धकेलिएर बुधबार सुनुवा हुँदा केसीले नै निरन्तरता पाउने गरी आदेश भएको हो।

