काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ठगी गरेको घटनामा पक्राउ परेका दुईजना पूर्वमन्त्री सहितका आरोपीहरूलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेर बहादुर कुँवर र रामेश्वर राय यादव सहितका प्रतिवादीलाई मंगलबार थप दुई दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको हो ।
मलेसिया जाने कामदारहरूसँग गैरकानुनी रूपमा बायो मेडिकल सर्भिस शुल्कको नाममा म्याक्रोटेक प्रालि नामको कम्पनीले स्वास्थ्य परीक्षणको नाममा रकम असुलेको थियो ।
मेडिकल स्क्रिनिङको नाममा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर असुल गरेको १ अर्ब ६९ करोड २ लाख २४ हजार रकम मलेसिया पठाउन ४ पटक मन्त्रीस्तरीय निर्णय भएको भेटिएको छ ।
ती निर्णय तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेर बहादुर कुँवरको पालामा भएको थियो । स्वास्थ्य परीक्षण गर्न काठमाडौँका ३६ वटा मेडिकललाई तोकिएको थियो ।
सो प्रकरणमा कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बस्ने ४० वर्षीय रवीन्द्र केसी, गोरखा घर भएर टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भएर गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ४५ वर्षीय रामपुकार तिवारी पहिलो चरणमा पक्राउ परेका थिए ।
मङ्सिर २ मा पूर्वमन्त्री सहित ६ जना पक्राउ परे । पक्राउ पर्नेमा पूर्वमन्त्रीद्वय शेर बहादुर कुँवर र रामेश्वर राय यादव, यातायात विभागका महानिर्देशक राजीव पोखरेल, पूर्व सचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुङ्गाना र उपसचिव निर्मला गुरुङ छन् ।
आरोपीहरूमाथि ब्यूरोले ठगी सम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । २०७५ को अन्तिमबाट आरोपीहरूले मलेसिया जाने कामदारहरूसँग प्रतिव्यक्ति १ सय मलेसियन रिङ्गिट असुल गरेका थिए । त्यसबेलाको मूल्य अनुसार एकजना कामदारसँग म्याक्रोटेक प्रालिले नेपाली रकम ३१ सय ६० रुपैयाँ असुलेको थियो ।

