काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को दुईदिने औपचारिक भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतबीच विभिन्न आठवटा महत्त्वपूर्ण समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।
प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्पन्न एकल तथा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा ती समझदारीहरू आदानप्रदान गरिएका हुन् ।
दुवै देशबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तथा विधि विज्ञान, निजामती प्रशासन क्षमता अभिवृद्धि, स्वास्थ्य, आयुर्वेद, दिगो सहरी विकास र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको हो ।
भू–उपग्रह सञ्चार (स्याटकम) सञ्जाल स्थापना
अन्तरिक्ष तथा सञ्चार प्रविधि क्षेत्रअन्तर्गत भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसियाली भू–उपग्रह (साउथ एसिया स्याटेलाइट) को उपयोगका लागि ‘स्याटेलाइट कम्युनिकेसन (स्याटकम) सञ्जाल’ स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
विधि विज्ञानमा शैक्षिक तथा अनुसन्धान सहकार्य
अपराध अनुसन्धान र विधि विज्ञानका क्षेत्रमा सहकार्य सुदृढ बनाउन गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी (एनएफएसयू) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी भएको छ ।
प्रहरी तथा सुरक्षा तालिम सहकार्य
प्रहरी प्रशिक्षण र सुरक्षा क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बीच समझदारीपत्र आदानप्रदान गरिएको छ ।
निजामती कर्मचारी क्षमता अभिवृद्धि तालिम
संस्थागत सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारतको प्रशासनिक सुधार तथा जनगुनासो विभागअन्तर्गतको नेसनल सेन्टर फर गुड गभर्नेन्स (एनसीजीजी) र नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) बीच नेपाली निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।
स्वास्थ्य तथा औषधिजन्य क्षेत्रमा सहकार्य
स्वास्थ्य सेवा र औषधि क्षेत्रको साझेदारीका लागि भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्य तथा औषधिजन्य सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिमा सहकार्य
आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको संरक्षण, अनुसन्धान र ज्ञान आदानप्रदानका लागि दुवै देशबीच सरकार–सरकार (जीटूजी) स्तरको समझदारी भएको छ । यस समझदारीमा नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की र भारतको आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले हस्ताक्षर तथा आदानप्रदान गरेका हुन् ।
दिगो सहरी विकासमा प्राविधिक सहकार्य
दिगो सहरी पूर्वाधार विकासका क्षेत्रमा भारतीय प्राविधिक ज्ञान, अनुभव र सहयोग आदानप्रदान गर्न दुवै सरकारबीच दिगो सहरी विकासमा प्राविधिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
पशुपन्छी तथा मत्स्यपालन विकासमा सहकार्य
कृषि क्षेत्रअन्तर्गत पशुपन्छी तथा मत्स्यपालन विकासको क्षेत्रमा द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न नेपाल र भारत सरकारबीच अर्को महत्त्वपूर्ण समझदारीपत्र आदानप्रदान भएको छ ।
उक्त समझदारीपत्र आदानप्रदानसँगै दुवै प्रधानमन्त्रीले नेपाल–भारत साझा भविष्यको खाका समेटिएको ‘संयुक्त दृष्टिकोण पत्र’ जारी गरेका छन् भने नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि भारतले २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेको छ । साथै, दुवै नेताले ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवासहित सीमापार सम्पर्क सञ्जाल, ऊर्जा र पेट्रोलियम पूर्वाधारका छवटा प्रमुख परियोजनाहरूको संयुक्त रूपमा उद्घाटन तथा शिलान्याससमेत गरेका छन् ।

