एनपीएल फाइनल : उपाधि जित्न सुदूरपश्चिमलाई १५६ रनको चुनौती

लुम्बिनीको इनिङ्समा मध्यक्रमका ब्याटर दिलिप नाथले सर्वाधिक ३९ रनको अविजित योगदान दिए। उनले ३१ बलको सामना गर्दै ३ छक्का प्रहार गरे।

एनपीएल फाइनल : उपाधि जित्न सुदूरपश्चिमलाई १५६ रनको चुनौती

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनायो। लुम्बिनीको इनिङ्समा मध्यक्रमका ब्याटर दिलिप नाथले सर्वाधिक ३९ रनको अविजित योगदान दिए। उनले ३१ बलको सामना गर्दै ३ छक्का प्रहार गरे।

सुरुवाती विकेट सस्तैमा गुमाएको लुम्बिनीका लागि कप्तान रोहित पौडेल र निरोशन डिक्वेलाले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। कप्तान पौडेलले ३१ बलमा २ चौकासहित ३० रन जोडे भने आक्रामक ब्याटिङ गरेका डिक्वेलाले मात्र १७ बलमा १ चौका र २ छक्काको मद्दतले २८ रन बनाए। ओपनर डार्सी सर्टले १८ बलमा ४ चौकासहित २१ रन जोड्दा अर्का ओपनर आसिफ शेख १ रनमै आउट भए।

अन्तिम ओभरहरूमा अली शेखले १२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रनको तीव्र इनिङ्स खेलेपछि लुम्बिनी सम्मानजनक योगफलमा पुगेको हो। सन्दीप जोरा ४ रनमा आउट भए भने रुबेन ट्रम्पलम्यानले २ बलमा ४ रन जोड्दै अविजित रहे।

बलिङतर्फ सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइनले कसिलो बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक २ विकेट लिए। यस्तै, हेमन्त धामीले ४ ओभरमा २३ रन दिएर १ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरी र थरिन्दु रथ्नायकेले समान १–१ विकेट हात पारे।

सुदूरपश्चिम रोयल्सले उपाधि जित्नका लागि अब २० ओभरमा १५६ रन बनाउनु पर्नेछ।