काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शनिबार उनलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दल जसपाका संसदीय दल नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
तर अब यादवले ३० दिनभित्र बहुमत साबित गर्न प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।
गत कात्तिक २८ गते तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समय दिएका थिए।
तर यस अवधिमा कुनै पनि दलले नयाँ सरकार गठनको दाबी पेस गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठुलो दल जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
मधेस प्रदेशसभामा जसपा २७ सांसदसहित सबैभन्दा ठुलो दल हो । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन गर्न बहुमत ५४ सांसदको समर्थन आवश्यक पर्छ।
मधेस प्रदेशसभामा जसपा नेपालका २७, नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। साथै संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना सांसद छन्।

