काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् ।
उनका अनुसार, आगामी सोमबार हुने प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत भएको छ ।
त्यस्तै, नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने लगायतका निर्णयहरू भएका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–
–२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
–चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।
–अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
–नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।
–राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।
–ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।
–राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।

