एनपिएल : चितवनलाई ३ विकेटले हराउँदै सुदुरपश्चिम फाइनलमा प्रवेश

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

एनपिएल : चितवनलाई ३ विकेटले हराउँदै सुदुरपश्चिम फाइनलमा प्रवेश

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो र टोलीले ४५ रन जोड्दा ४ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो। ओपनर जर्ज मुन्से (८), विनोद भण्डारी (२३), इशान पाण्डे (१०) र स्कट कुग्लेइजन (२) सस्तैमा आउट भएपछि सुदूरपश्चिम दबाबमा परेको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन र आरिफ शेखले १० रन जोड्दै इनिङ्स सम्हाल्ने प्रयास गरे।

तर, छैटौं नम्बरमा ब्याटिङ गर्न आएका थरिन्दु रत्नायकेले अविजित ५३ रनको म्याच विनिङ इनिङ्स खेल्दै सुदूरपश्चिमलाई जित दिलाए। ४२ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। अन्तिम ओभरमा सुदूरपश्चिमलाई जितका लागि ३ रन आवश्यक रहँदा १९.४ ओभरमा फाबियन एलेन (५ रन) रन आउट भएपछि खेल थप रोमाञ्चक बनेको थियो । यद्यपि, १९.५ ओभरमा रत्नायकेले कामिल मिशाराको बलमा चौका प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे। चितवनका बलर रञ्जित कुमारले २ तथा रिजन ढकाल, कमलसिंह ऐरी, उसमा मिर र सलाहुद्दिन खानले १ १ विकेट लिए।

मलानको अर्धशतक छायामा

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। चितवनको ब्याटिङ सुरुवातदेखि नै धर्मरायो र ६२ रन पुग्दा टोलीले ६ विकेट गुमाइसकेको थियो। कामिल मिशाराले (४), देव खनाल (६), रवि बोपारा (१), विवेक यादव (३) र कप्तान कुशल मल्ल (१) दोहोरो अंकमा रन नजोडी पभेलियन फर्किए।

एक छेउबाट विकेट पतन भइरहँदा डेविड मलानले ७१ रनको शानदार अर्धशतकीय इनिङ्स खेल्दै चितवनलाई सम्मानजनक योगफलसम्म पुर्‍याए। ५१ बल खेलेका मलानले ९ चौका र २ छक्का प्रहार गरे। उनलाई सलाहुद्दिन खान (१८) र कमलसिंह ऐरी (१०) ले केही साथ दिएका थिए।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्लेइजनले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै, थरिन्दु रत्नायकेले २ विकेट हात पारे भने दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हेमन्त धामीले १-१ विकेट लिए।