सुदूरपश्चिमलाई चितवनको १३४ रनको लक्ष्य, मलानको अविजित अर्धशतक

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहीबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन जोडेको हो।

सुदूरपश्चिमलाई चितवनको १३४ रनको लक्ष्य, मलानको अविजित अर्धशतक

कीर्तिपुर। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो क्वालिफायर खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहीबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन जोडेको हो।

पहिले ब्याटिङ गर्न मैदान उत्रिएको चितवनको सुरुवात निकै खराब रह्यो। सुदूरपश्चिमका बलरहरूले सुरुवाती ओभरदेखि नै कसिलो बलिङ गर्दै चितवनका ब्याटरहरूलाई खुलेर खेल्ने अवसर दिएनन्। पावरप्लेभित्रै शीर्ष क्रमका महत्त्वपूर्ण ब्याटरहरू पभेलियन फर्किएपछि चितवन दबाबमा परेको थियो। ओपनर कामिल मिशाराले ४ रन, देव खनाल ६ रन तथा अनुभवी ब्याटर रवि बोपारा मात्र १ रन बनाएर आउट हुँदा चितवन ३१–३ को कमजोर स्थितिमा पुगेको थियो।

त्यसपछि मध्यक्रमका ब्याटरहरूले पनि इनिङ्स सम्हाल्न सकेनन्। विवेक यादव ३ रन, कप्तान कुशल मल्ल १ रन र उषामा मिर २ रनमै समेटिएपछि ११.४ ओभरमा चितवन ६२ रन बनाउँदा ६ विकेट गुमाएर अत्यन्तै नाजुक अवस्थामा पुगेको थियो।

एकातिरबाट लगातार विकेट झरिरहे पनि अनुभवी इंग्लिस ब्याटर डेविड मलानले एक छेउबाट इनिङ्सलाई बलियो आधार दिए। सुरुवातमा संयमित ब्याटिङ गरेका मलानले इनिङ्सको अन्त्यतिर आक्रामक रूप अपनाउँदै चितवनलाई सम्मानजनक योगफलसम्म पुर्‍याए।

मलानले ५१ बलको सामना गर्दै ९ चौका र २ छक्काको मद्दतमा अविजित ७१ रन बनाए। उनले सातौं विकेटका लागि सलाउद्दिन खान (१८ रन) सँग मिलेर इनिङ्स उकास्ने प्रयास गरे। यस्तै, आठौं विकेटका लागि कमल ऐरीले ८ बलमा १ छक्कासहित १० रन तथा अन्त्यमा रिजन ढकालले अविजित ४ रन जोड्दै मलानलाई साथ दिए। विशेषगरी अन्तिम ५ ओभरमा चितवनले २ विकेट गुमाएर ४५ रन जोड्दै टोलीको स्कोर १३३ सम्म पुर्‍याएको हो। १९ औं ओभरको अन्तिम बलमा मलानले स्कट कुग्लेइनलाई छक्का प्रहार गर्दै टोलीको स्कोर १२५ पार गराएका थिए।

सुदूरपश्चिम रोयल्सका बलरहरूले अनुशासित र धारिलो बलिङ प्रदर्शन गरे। सुदूरपश्चिमका लागि न्युजिल्यान्डका तीव्र गतिका बलर स्कट कुग्लेइन सर्वाधिक सफल रहे। उनले ४ ओभर बलिङ गर्दै मात्र २७ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए।

यसैगरी, थारिन्दु रत्नायकेले ४ ओभरमा २३ रन दिएर २ विकेट हात पारे। कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी (४ ओभरमा ३३ रन) र इशान पाण्डेले समान १–१ विकेट लिँदै चितवनको ब्याटिङ लाइनअपलाई ध्वस्त पारेका थिए।