काठमाडौं । मकवानपुरमा गाडी दुर्घटना भएको छ । भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथ सडक खण्डमा बिहीबार बिहान ८:५५ बजे सुमो गाडी दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुबाहक गाडी घुम्तिमा आफै अनियन्त्रित भइ सडकबाट तल भैसे खोलामा खसेको हो।
दुर्घटनामा चालकसहित ३ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
घाइते अवस्थामा १० जनालाई हेटौंडा अस्पताल पठाइएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा तीन जनालाई मृत घोषणा गरेको हो।
अन्य घाइतेहरूको उपचार भइरहेको छ। उनीहरुको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ।
मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको थियो।

