काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रूसको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।
अखिल रूसी राजनीतिक दलको आयोजनामा रूसको राजधानी मस्कोमा नोभेम्बर १४ देखि १७ सम्म सञ्चालित ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) विषयक विश्व सम्मेलनमा सहभागी भएर उनी आज काठमाडौं अवतरण गरेका हुन्।
स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त अन्तरक्रिया गर्दै संयोजक प्रचण्डले आफ्नो भ्रमण अत्यन्तै फलदायी र उपलब्धिमूलक रहेको बताए।
अन्तरक्रियाका क्रममा उनले मस्कोमा आयोजित विश्व सम्मेलनमा ६० भन्दा बढी देशका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूसँग भएको छलफल, बहुध्रुवीय विश्व व्यवस्थाको आवश्यकता, तथा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको बताए ।
प्रचण्ड गत कार्तिक २७ गते (नोभेम्बर १३) प्रमुख स्वकीय सचिव गोविन्द आचार्यसहित मस्को प्रस्थान गरेका थिए। विमानस्थलमा उनलाई स्वागत गर्न पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

