काठमाडौं। विश्वका तीन शक्तिशाली राष्ट्र अमेरिका, चीन र रुसका राष्ट्रपतिहरू इतिहासमै पहिलोपटक आज (बिहीबार) त्रिपक्षीय वार्ता गर्न एकै ठाउँमा भेला हुँदैछन्। एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसर पारेर चीनको दक्षिणी सहर सेन्जेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ऐतिहासिक भेटवार्ता हुन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार यसअघि यी तीन नेताहरूबीच द्विपक्षीय भेटवार्ताहरू भए पनि तीनै जना एकैसाथ त्रिपक्षीय वार्तामा बसेको यो नै पहिलो पटक हो। विश्वका तीन ठूला आणविक शक्ति राष्ट्रका प्रमुखहरूको यो असाधारण कूटनीतिक जमघटमा आणविक हतियार, व्यापार, विश्व सुरक्षा, युक्रेन युद्ध, इरान तनाव र उन्नत प्रविधिसम्बन्धी विवादहरू मुख्य विषय रहने अनुमान गरिएको छ। यद्यपि, तीन देशबीचका गहिरो मतभेदका कारण बैठकबाट कुनै ठूला सम्झौता हुने सम्भावना कम रहेको विश्लेषकहरू बताउँछन्।
त्रिपक्षीय बैठकअघि राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सीसँग द्विपक्षीय वार्ता र 'वर्किङ लन्च' गर्ने कार्यक्रम छ। त्यस्तै, अमेरिकी र रुसी अधिकारीहरूका अनुसार ट्रम्प र पुटिनबीच छुट्टै 'वान–टु–वान' (द्विपक्षीय) भेटवार्तासमेत हुनेछ।
यसै वर्ष मात्र ट्रम्प र सीबीच मे महिनामा बेइजिङ र सेप्टेम्बरमा ह्वाइट हाउसमा गरी दुईवटा महत्वपूर्ण द्विपक्षीय बैठक भइसकेका छन् भने सीले मे महिनामा पुटिनलाई पनि बेइजिङमा स्वागत गरेका थिए। ट्रम्प र पुटिनबीचको पछिल्लो प्रत्यक्ष भेट गत वर्ष अलास्कामा भएको थियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि ट्रम्प र सीसँगको यो त्रिपक्षीय बैठक आफू अमेरिका र चीनसमानको महाशक्ति राष्ट्रको नेता भएको प्रमाणित गर्ने बहुप्रतीक्षित अवसर बनेको छ। सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण गरेपछि पश्चिमा देशहरूले उनलाई एक्ल्याउने प्रयास गरेका थिए। तर, सन् २०२६ मा आइपुग्दा युक्रेनमा युद्धविरामको कुनै सम्झौता नगरीकनै उनी विश्वका दुई ठूला शक्तिराष्ट्रका प्रमुखहरूसँग एउटै टेबलमा बस्न सफल भएका छन्। रुसी सञ्चारमाध्यमहरूले बैठकको आयोजना हुनुलाई नै पुटिनको कूटनीतिक विजय भनेका छन् भने स्वयं पुटिनले यसबाट ठूलो सम्भावित लाभ मिल्ने अपेक्षा व्यक्त गरेका छन्।
पश्चिमा जगतका कतिपयले यो तीनतर्फी बैठकलाई दोस्रो विश्वयुद्धताका सन् १९४५ मा भएको 'याल्टा सम्मेलन'सँग तुलना गरेका छन्, जहाँ अमेरिका, बेलायत र सोभियत सङ्घका नेताहरूले जर्मनी र बर्लिनलाई विभाजन गर्दै युरोपमा आ–आफ्नो प्रभाव क्षेत्र बाँडेका थिए। यद्यपि, बहुध्रुवीय विश्वको वकालत गर्दै आएका रुस र चीन दुवैले याल्टा सम्मेलनसँगको तुलनालाई अस्वीकार गरेका छन्।
शिखर सम्मेलन शुरू हुनुअघि बुधबार चिनियाँ राष्ट्रपति सीले सेन्जेन विमानस्थलको धावनमार्ग (टार्म्याक) मै पुगेर मुस्कुराउँदै ट्रम्पको स्वागत गरेका थिए। चिनियाँ राष्ट्रपति स्वयं विमानस्थल पुगेर विदेशी नेताको स्वागत गर्नु अत्यन्तै दुर्लभ मानिन्छ। सोही दिन तीनै नेता ट्रम्प, सी र पुटिन एकैसाथ देखिएको पहिलो तस्वीरसमेत सार्वजनिक भएको थियो।

