काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित स्थानीय तहका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ।
निर्वाचन आयोगले आज सूचना जारी गर्दै जसपाबाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईसहितका जनप्रतिनिधि पदमुक्त भएको जानकारी दिएको हो।
पदमुक्त हुने अन्य जनप्रतिनिधिहरूमा सिराहाको लहान गरपालिकाका उपमेयर रामचरित्तर महतो, खोटाङको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ र देशका विभिन्न जिल्लाका स्थानीय तहका ९ जना वडाध्यक्ष लगायत छन्।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम उनीहरू दलबिहीन भएपछि पदमुक्त भएका निर्वाचन आयोगले जनाएको छ।
उनीहरूले गत फागनु २१ गतेको निर्वाचनमा पार्टीको नीति, सिद्धान्त तथा निर्णय विपरितको काम गरेको भन्दै जसपाले निर्वाचनमा आयोगमा उजुरी गरेपछि उनीहरू पदमुक्त भएका हुन्।
पदमुक्त भएका अधिकांश जनप्रतिनिधिले गत निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई पराजित गर्ने र रास्वपाका उम्मेदवारलाई जिताउने भूमिकामा थिए।


