काठमाडौं । दुई जना पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित ६ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व मन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई बुधबार पक्राउ गरेको हो।
यस्तै श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, सहसचिव राजिव पोखरेल र उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
उनीहरुलाई ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुप शमशेर जबराले बताए।
प्रधानमन्त्री कार्यालयको पत्र र विकास रानाभाटको जाहेरीले यसअघि यही मुद्दामा कैलाश खड्कालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।
मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौता विपरित गैर कानूनी रुपमा ठगी गरी संकलन गरिएको रकम मध्ये अमेरिकी डलर ३ लाख ७० हजार ४३९ र बेलायती मुद्रा (जीबीपी) ३७ लाख १७ हजार ९०.८० गरी १ अर्ब ६९ करोड २ लाख २४ हजार ०२६.७६ अपचलन गरेको आरोप छ।
सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनीयतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्र प्रतिकुल (मुद्रा संचितीकरणमा नोक्सानी) हुने निर्णय गरेको आरोप छ।
संगठित समूहको लाभको लागि जानी जानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्य विपरीत श्रमिकहरुलाई संगठित रुपमा ठगी गर्ने कार्यमा मौन रहेको आरोप उनीहरुलाई लगाइएको छ।
गैर कानूनी रुपमा संकलन भएको रकम मलेसिया पठाउने निर्णय गर्ने कार्यमा संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गर्न बुधबार नै जिल्ला अदालत काठमाडौंबाट सीआईबीले अनुमती लिएको थियो।
उनीहरुलाई आजै काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।
तत्कालीन श्रम मन्त्री कुँवर अछामको चौरपाटी गाउँपालिका ४ घर भई हाल ललितपुर बस्दै आएका थिए। रामेश्वर राय यादव सर्लाहीको चक्रघट्टा गाउँपालिका, बेल्हीका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव ६४ वर्षका बिनोद केसी, ललितपुर महानगरपालिका २३, तत्कालीन सहसचिव उमेश ढुंगाना श्रम मन्त्रालयमा रोजगार व्यवस्थापन महाशाखा प्रमुख थिए। उनी काठमाडौं, गोकर्णेश्वर नगरपालिका ५ का हुन्।
रोजगार व्यवस्थापन महाशाखा प्रमुख नै रहेका सहसचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन कानून अधिकृत रहेकी ललितपुरकी ४९ वर्षीया निर्मला गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको हो।

