काठमाण्डुलाई २०५ रनको विशाल लक्ष्य, चितवनका कमिलको विस्फोटक शतक

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको हो ।

काठमाण्डुलाई २०५ रनको विशाल लक्ष्य, चितवनका कमिलको विस्फोटक शतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजलाई जितका लागि २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको हो ।

चितवनको विशाल स्कोरमा ओपनर कमिल मिश्रले अविजित शतकीय इनिङ्स खेले । आक्रामक ब्याटिङ गरेका मिशाराले मात्र ५९ बलमा ५ चौका र १० छक्काको मद्दतले १२० रन जोडे । अन्तिम ओभरमा करण केसीविरुद्ध १९ रन बटुल्दै उनले टोलीलाई २०० रनको आँकडा पार गराएका थिए ।

त्यसैगरी, अनुभवी ब्याटर रवि बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रनको अर्धशतकीय योगदान दिए । विवेक यादवले ३ बलमा ८ रन जोडे भने कप्तान कुशल मल्ल शून्य रनमा अविजित रहे । इनिङ्सको अन्तिम ५ ओभरमा चितवनले ७२ रन जोड्दै काठमाडौंका बलरमाथि दबाब बनाएको थियो ।

बलिङतर्फ काठमाण्डुका करण केसी र रसिद खानले समान २–२ विकेट लिए । करणले ४ ओभरमा ३२ रन तथा रसिदले ४ ओभरमा ३८ रन खर्चिए । जहान्दाद खानले ४ ओभरमा ३४ रन दिए पनि कुनै विकेट लिन सकेनन् ।

दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गर्न काठमाण्डुले अब प्रतिओभर १०।२५ को औसतमा रन बनाउनुपर्नेछ । यस खेलको विजेताले फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।